
काठमाण्डाै ।
कोरोना सङ्क्रमणका कारण नेपालले लकडाउन गरेको एक वर्ष पुगेको छ । गएको वर्ष चैत ११ गतेदेखि कोरोना भाइरस नियन्त्रण गर्न भन्दै लकडाउन गरिएको थियो । पटकपटक गरी चार महिनासम्म लकडाउन भयो ।
अन्य देशमा लकडाउनलाई खुकुलो बनाएसंँगै गएको साउन ६ गतेदेखि एक सय २० दिन लामो लकडाउन भने अन्त्य भयो । लकडाउन हटेपछि बजार पसल खुले । ढिलो गरी भए पनि शैक्षिक संस्था खुले । सबै क्षेत्रमा चहलपहल बढ्यो । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमणदर घट्दै पनि गयो । तर, भारतसहित विश्वका विभिन्न देशमा कोरोनाको दोस्रो लहर फैलिएसँगै नेपाल फेरि एक वर्ष अगाडिकै अवस्थामा पुगेको छ ।
कोरोनाको जोखिम फेरि बढेको छ । लकडाउनको वर्ष दिन बित्न नपाउँदै फेरि दोस्रो लहरको डर बढेको छ । कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिए पछि भारतका केही ठाउँमा लकडाउन लागू गरिएको छ । भारतसँगको खुला सिमानाकाका कारण पनि नेपालमा कोरोना सङ्क्रमणको उच्च जोखिम परेको शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले बताउनुभयो ।
प्रकाशित मिति: ११ चैत्र २०७७, बुधबार ११:५६