भारतबाट आउनेकाे अनिवार्य स्वास्थ्य परीक्षण, जिल्लामा भिडभाड हुने गतिविधिमा राेक

काठमाडौं ।

भारतमा कोभिड–१९ को दोस्रो लहर फैलिएसँगै जिल्ला प्रशासन कार्यालय बाँकेले सीमा क्षेत्रमा कडाइ गर्नुका साथै जिल्लामा हुने विभिन्न गतिविधिमा रोक लगाउने भएको छ।

सहायह प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार भारतबाट आउनेकाे  स्वास्थ्य परीक्षण गरिएकाे  छ भने आवश्यकता अनुसार अस्पताल पठाइएकाे छ। सीमामा हेल्थ डेस्क राख्ने र संक्रमणको आशंका गरिएका व्यक्तिलाई क्वारेन्टिनमा राख्ने समेत प्रशासनको सूचनामा उल्लेख छ। साथै, स्वास्थ्य संस्था तथा आइसोलेशलाई तयारी अवस्थामा राख्ने निर्णय गरेकाे समेत उहाँले बताउनुभयाे।

कोरोनाको त्रास बढेको भन्दै कार्यालयले सूचना प्रकाशित गरी अत्यावश्यक कामबाहेक सीमा वारपार गर्न निषेध गरेको हो। साथै, फागू पूर्णिमालगायत महोत्सव, जुलुस, जात्रा र भीडभाड गर्नसमेत रोक लगाएको हो।

प्रशासनले एक आदेश जारी गर्दै धार्मिक तथा सामाजिक स्थलमा सामाजिक दूरीलगायत जनस्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरुपमा पालन गर्नसमेत आग्रह गरेको छ।

प्रकाशित मिति: १२ चैत्र २०७७, बिहीबार ११:४८