नेपाल पत्रकार महासङ्घ ६६औँ वर्षमा प्रवेश

 काठमाण्डाै‌‍‍ ।

नेपाली पत्रकारको साझा संस्था नेपाल पत्रकार महासङ्घ ६६औँ वर्षमा प्रवेश गरेको छ ।सोही अवसरमा महासङ्घले देशैभर र विश्वका विभिन्न देशमा छरिएर रहेका महासङ्घका सदस्यसहित आम नेपाली सञ्चारकर्मी तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरमा बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

अध्यक्ष गोविन्द आचार्यले आज शुभकामना सन्देशमार्फत स्थापना दिवसका अवसरमा सहकार्य तथा साथ र सहयोगका लागि सम्पूर्ण पत्रकार, मिडिया व्यवस्थापक, पत्रकारिता सम्वद्ध सङ्घसंस्था र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा क्रियाशील सङ्घ सङ्गठनको नेतृत्व तथा नागरिक संस्थामा हार्दिक आाभार व्यक्त गर्नुभएकाे छ ।

अहिले महासङ्घ मातहत १० प्रदेश समिति, ७६ जिल्ला शाखा, ४२ प्रतिष्ठान शाखा, ११ वैदेशिक शाखा र १२ एसोसिएट संस्था आवद्ध छन् । महासङ्घले स्थापनाकालदेखि नै नेपालमा श्रमजीवी पत्रकारको हक, हित र अधिकार तथा स्वतन्त्र पत्रकारिताको संस्थागत विकासका साथै राष्ट्रियता, लोकतन्त्र एवं नागरिक अधिकारका लागि अहम् भूमिका खेल्दै आएको छ ।

त्यसैगरी महासङ्घले यही २०७७ चैत २५ गते एकै दिन केन्द्र, प्रदेश र शाखाका कार्यसमिति चयनका लागि हुने निर्वाचनलाई स्वस्थ्य, स्वतन्त्र र व्यवस्थित ढङ्गले सफल पार्न आग्रह गरेको छ ।

प्रकाशित मिति: १६ चैत्र २०७७, सोमबार १३:५६