
काठमाण्डाै ।
आजदेखि देशका १२ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै छ । हात्तीपाइले रोग मानिसलाई शारीरिक रुपमा अशक्त तथा अपाङ्ग बनाउने सरुवा रोग हो । यसविरुद्ध हरेक वर्ष अभियान नै चलाए पनि नियन्त्रण हुन सकेको छैन ।
हात्तीपाइले विरुद्धको औषधिले असर गर्छ भन्ने भ्रमका कारण धेरैले औषधि खान नमान्दा अभियान प्रभावकारी हुन सकेको छैन ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक कृष्णप्रसाद पौडेलले हात्तीपाइले विरुद्धको औषधिले केहीलाई रिँगटा लाग्ने, ज्वरो आउने र वाकवाकी लाग्ने जस्ता लक्षण देखिए पनि केही समयपछि यो समस्या हट्ने बताउनुभयो ।
तर, दुई वर्ष उमेर नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी तथा सिकिस्त बिरामी, कडा रोगको लागि औषधि खाइरहेका व्यक्ति र कडा कुपोषण भएका पाँच वर्षमुनिका बालबालिकालाई भने यो औषधि खुवाउन हुँदैन ।
यस्तै झापा, धनकुटा, मोरङ, वारा, लमजुङ, पर्वत, वागलुङ, कपिलबस्तु, दाङ, बाँके, बर्दिया र कैलाली जिल्लाका १२९ स्थानीय तहका ७० लाख ४५ हजार व्यक्तिलाई औषधि खुवाइने छ । औषधि खुवाउनका लागि पाँच हजार ४०० स्वास्थ्यकर्मी र नौ हजार ५०० महिला स्वास्थ्य स्वयसेविका परिचालन गरिएकाे छ ।
प्रकाशित मिति: २० चैत्र २०७७, शुक्रबार १०:४५