
सल्यान ।
सल्यानमा नेकपा एमालेको भातृसंगठन युवा संघ नेपालको १ सय २५ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको छ । शनिवार जिल्लाको शारदा नगरपालिका ६ वरलामा आयोजित एक कार्यक्रमका बिच युवा संघको जिल्ला कमिटी घोषणा गरिएको हो ।
नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले चालेको कदम र मनपरीतन्त्रका बिरुद्धमा उत्रिएका पार्टीका बरिष्ठ नेता एवम् पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल पक्षका युवाहरुको भेलाबाट न्युटन श्रेष्ठको अध्यक्षमा जिल्ला कमिटी घोषणा गरिएको हो । जसको उपाध्यक्षमा सुरेश बोहरा, सचिवमा शिवराज अधिकारी, सहसचिवमा बम बहादुर गाहा र कोषाध्यक्षमा सुरेन्द्र चन्द रहनुभएको छ ।
युवा संघ नेपाल जिल्ला कमिटी घोषणा तथा सपथग्रहण कार्यक्रममा बोल्दै युवा संघका केन्द्रिय महासचिव दिपक जिएमले युवाहरु राजनिति सँगै आयआर्जनका कार्यमा सक्रिय बन्नुपर्ने बताउनुभएको छ । पुराना नेताहरुको योगदान र संघर्षबाट पार्टी र संगठन अहिलेको अवस्थामा आएको बताउदैँ उहाँले पार्टी र देश चलाउने जिम्मेवारी युवाको काँधमा आएको बताउनुभयो ।
“यो समयमा युवाहरु राजनिति सँगै आर्यआर्जनका कार्यमा सरिक हुनुपर्दछ, अवशरहरु धेरै छन्, हामी पदको लोभी भएर बसेका छैनौँ” उहाँले भन्नुभयो “पहिलो प्राथामिकता आफ्नो अभिष्य र आयआर्जनका कार्यमा दिनुहोस्, अनि मात्रै राजनितीमा समय दिनुपर्दछ ।” पछिल्लो समयमा बेरोजगार युवाहरुको संख्या बढ्दै गएकाले हरेक युवा रोजगारी सिर्जना गर्ने कार्यमा लाग्नुपर्ने उहाँको भनाई छ ।
केन्द्रिय महासचिव जिएमले पार्टीका अध्यक्ष केपि शर्मा ओली भारतको गुलामी वनेर काम गरिरहेको बताउनुभयो । “केपि ओली नेतृत्वको सरकार प्रति जनताका थुप्रै अपेक्षाहरु रहेका थिए, जनमुखी विकास, शिक्षा, स्वास्थ्य, कृषिमा आमुलपरिवर्तनको अपेक्षा गरिएपनि सरकारले काम गर्न सकेन्” उहाँले भन्नुभयो “सरकार जनताप्रति गम्भिर वनेन्, बन्नै चाहेन ।”
सो अवसरमा नेकपा एमालेका प्रदेश कमिटी सदस्य उदय बहादुर बोहरा, हरि केसी, पार्टीका जिल्ला कमिटी सचिव रमेश कुमार गौतम, पार्टीका जिल्ला कमिटी सदस्यहरु राम खडकी, ज्ञानेश्वर केसी, इश्वरी बुढाथोकी, प्रेम बहादुर डाँगी, प्रदेश परिषद सल्लाहकार समिति सदस्य सिपि ओली प्रेस चाैतारी नेपाल सल्यानका सचिव मिना बुढाथाेकी लगायतकाले बोल्नुभएको थियो ।
प्रकाशित मिति: २८ चैत्र २०७७, शनिबार १९:२९