सल्यानमा काेराेना संक्रमितकाे संख्या १ सया २४ नाघ्याे, कोरोना पुष्टि भएका बिरामीहरुमा गम्भीर स्वास्थ्य समस्या

 मिना बुढाथाेकी ।

पछिल्लो समय कोरोना पुष्टि भएका बिरामीहरुमा गम्भीर स्वास्थ्य समस्या देखिएको जिल्ला अस्पतालले जनाएको छ । अस्पतालका अनुसार विगत १० दिन यता १सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आजमात्रै २५ जनामा कोरोजा पुष्टि भएको कार्यालयले जनाएको छ ।

बैशाख १४ गते स्वास्थ्य सेवा कार्यालयमा २५ जनाको स्वाब परिक्षण गर्दा २१ जनामा कोरोना पुष्टि भएको कोरोना नियन्त्रण फोकल पर्सन रिखाराम पुनले जानकारी दिनुभयो । यस्तै कुमाख गाउँपालिकामा ५ जनाको स्वाब परिक्षण गरेकोमा ४ जनामा कोरोना पोजेटिभ देखिएको उहाँले बताउनुभयो ।

पछिल्लो समय कोरोना पुष्टि भएका बिरामीमा गम्भीर स्वास्थ्य समस्या देखिएको जिल्ला अस्पतालले जनाएको छ । बिरामीहरुमा स्वास प्रस्वासको गम्भीर समस्या रहेको र केहीलाइ उल्टी हुने समस्या देखिएको कार्यालयले जनाएको छ । अहिले ७ जना कोरोना संक्रमितहरुलाइ अक्सीजन दि रहेको कार्यालयले जनाएको छ । अस्पतालका अनुसार १० दिनको अवधिमा ३ जनालाइ जिल्ला बाहिर रिफर गरिएको छ ।

स्थानीय तह जिम्मेवार नबन्दा कोरोना नियन्त्रणको काम प्रभावकारी हुन सकेन

स्थानीय तह जिम्मेवार नबन्दा कोरोना नियन्त्रणको काम प्रभावकारी हुन नसकेको चोतर्फी गुनासो बढेको छ । ‘स्थानीय तहको पहलमा अनावश्यक भीडभाड कम गरी संक्रमणको जोखिमलाई कम गर्न सकिन्छ,’ कोरोना फोकल पर्सन पुनले भन्नुभयो, ‘स्थानीय तहले आइसोलेसन निर्माण, शंकास्पद बिरामीको स्वास्थ्य परीक्षण, औषधि आपूर्तिलगायत क्रियाकलाप गर्न जरुरी छ ।’

संघीय सरकारले कोरोना संक्रमण फैलिन नदिन भारत तथा अन्य मुलुकबाट फर्किएकालाई १० दिन सुरक्षित राख्न स्थानीय तहलाई आग्रह गरेको छ । तर जिल्लाका १० वटै स्थानीय तहले क्वारेन्टाइन, आइसोलेसन निर्माण र स्वास्थ्य परीक्षणको व्यवस्था अझैसम्म पनि नगरेको स्थानीयको गुनासो छ ।

शारदा नगरपालिका निवासी भक्त बहादुर बुढाथोकीका अनुसार भारतबाट फर्किने नागरिकका कारण पनि संक्रमणको जोखिम बढिरहेको छ । भारतबाट फर्किएका अधिकांश सर्वसाधारण होम क्वारेन्टाइनमा नबसी जथाभावी घुमघाम गरिरहेको उहाँले बताउनुभयो । ‘संक्रमणको दर धमाधम बढे पनि स्थानीय सरकारले सतर्कता अपनाएका छैनन्,’ उहाँले भन्नुभयो, ‘पालिकाहरूले पूर्वतयारी नगर्दा संक्रमण थेग्नै नसक्ने गरी बढ्ने चिन्ता छ ।’

कोरोनाको जोखिम कम गर्न स्थानीय सरकारहरूले गत वर्षजस्तै क्वारेन्टाइन र आइसोलेसनको निर्माण, हेल्थ डेस्क स्थापना, परीक्षणको व्यवस्था, औषधि आपूर्तिलगायत कार्य गर्न आवश्यक रहेको स्थानीय रेशम बहादुर भण्डारीले बताउनुभयो । ‘गाउँ–गाउँमा जटिल अवस्थाका बिरामी बढिरहेका छन्,’ उहाँले भन्नुभयो, ‘तर स्थानीय तहले गर्नुपर्ने काम अझै सुरु भएनन्।’

स्थानीय तहहरूले भने कोरोना नियन्त्रणका लागि आवश्यक काम गरिरहेको दाबी गरेका छन । शारदा नगरपालिकाका कोरोना नियन्त्रण फोकल पर्सन रवीन विष्टले संघीय सरकारको निर्देशनअनुसार गाउँ–गाउँमा सचेतनामूलक कार्यक्रम तीव्र पारिएको बताउनुभयो। ‘ज्वरो आएका शंकास्पद बिरामीको कोरोना परीक्षण भइरहेको छ,’उहाँले भन्नुभयो,‘हाम्रै कार्यक्षेत्रभित्र जिल्ला अस्पताल भएकाले थप आइसोलेसनको आवश्यकता परेन ।’

खासै जोखिम नदेखिएकाले आवश्यक तयारी नथालिएको कालीमाटी गाउँपालिका अध्यक्ष दानबहादुर खत्रीले बताए । उहाँका अनुसार अहिलेसम्म गाउँपालिकामा कोरोना संक्रमण शून्य छ । कोरोना संक्रमणको दर बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले सल्यानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ ।

जिल्ला कोभिड–१९ संक्रमण व्यवस्थापन केन्द्रको बैठकको निर्णयअनुसार मेला, महोत्सव, जात्रा, पर्व, विवाह, व्रतबन्ध, मलामीलगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलाप सञ्चालन गर्दा २५ जनाभन्दा बढी भेला हुन नपाउने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईंले बताउनुभयो । उहाँका अनुसार अनिवार्य रूपमा मास्क लगाउन, सेनिटाइजर प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न सार्वजनिक सूचना जारी गरिएको छ ।

प्रकाशित मिति: १४ बैशाख २०७८, मंगलवार १७:०३