जिल्लामा उपचार सम्भव नभएका संक्रमितलाइ प्रदेश भित्रै उपचारको व्यवस्था मिलाउछौंः मुख्यमन्त्री शाही

सल्यान ।
कर्णाली प्रदेशमै कोरोनाको उच्च जोखिममा रहेको सल्यान जिल्लामा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको टोलीले अवस्था अनुगमन गरेको छ ।कोरोना संक्रमितहरुको अवस्था र अस्पतालको अवस्था बारे अनुगमन गर्न सल्यान पुग्नु भएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कोरोना संक्रमितहरुको उपचार प्रदेश भित्रै गरिने व्यवस्था मिलाउन लागेको बताउनुभयो ।

प्रदेशका सबै जिल्लामा कोरोना रोकथाम तथा न्युनिकरण गर्न प्रदेश सरकारले तत्काललाइ एक एक करोड रकम पठाइ सकेको छ, मुख्यमन्त्री शाहीले भन्नुभयो,जिल्लामा उपचार सम्भव नभएका संक्रमितलाइ जुम्ला पठाएर भएपनि निको बनाएर पठाउँछौं ।

अहिले अन्य शहरहरुमा संक्रमितहरुले सहजै बेड पाउने अवस्था नरहेकाले सुविधा सम्पन्न प्रदेश भित्रकै अस्पतालमा उपचार गर्ने वातावरण मिलाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।कोरानाको उपचारमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगाएतको टोलीलाई समेत प्रदेश सरकारले उचित भत्ताको व्यवस्था गरेको उहाँको भनाइ छ ।

सो अवसरमा जिल्लाका स्वास्थ्यकर्मीले मुख्यमन्त्रीलाइ सामाग्री अभाव लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए ।


स्वास्थ्य सेवा कार्यालय सल्यानका व्यवस्थापक दशरथ कुमार श्रेष्ठले यस्तो महामारीको समयमा अस्पतालमा एउटा एम्बुलेन्स समेतको व्यवस्था नहुनु दुखद भएको बताउनुभयो । अस्पतालमा एम्बुलेन्स नहुँदा अन्य पालिकाको भरमा पर्नु परेका कारण तत्तकाल एम्बुलेन्स खरीद गर्न प्रदेश सरकारसंग आग्रह गर्नुभयो ।

यस्तै जिल्ला अस्पताल सल्यानका मेडिकल अधिकृत भिमकान्त जैसीले जिल्ला अस्पताल सल्यानमा प्रयाप्त मात्रामा उपकरणहरु नहुँदा विरामीले ज्यान गुमाउनु पर्ने अवस्था आएको बताउनुभयो । अस्पतालमा आवश्यक जनशक्ति भएपनि उपकरणको समस्या भएकोले प्रदेश सरकारसँग उपकरण उपलब्ध गराइदिन उहाँले आग्रह गर्नुभयो ।


सो अवसरमा कर्णाली प्रदेशका पुर्व अर्थमन्त्री प्रकाश ज्वालालले सल्यान जिल्ला हालसम्म प्रदेशमै कोभिडको उच्च जोखिममा रहेको कुरालाइ मध्यनजर गर्दै प्रदेशले विनियोजन गरेको एक करोडबाट छिटो भन्दा छिटो काम अगाडी बढाउनु पर्ने बताउनुभयो ।

उहाँले संक्रमितको उपचारका लागी थप आवश्यक रकम चाहिएको खण्डमा समेत प्रदेश सरकारलाइ भनेर कुनैपनि संक्रमितको आर्थिक अभावका कारणले उपचार बाट वन्चित हुनु नपर्ने बताउनुभयो ।

यसै विच मुख्यमन्त्री महेन्द्र वहादुर शाहीको जिल्ला प्रशासन कार्यालयमा जिल्ला विपद व्यवस्थापन केन्द्रको बैठकमा सहभागी भई कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार र प्रतिकार्यको कामलाई प्रभावकारी बनाउन निर्देशन दिनु भएको छ ।

प्रकाशित मिति: २३ बैशाख २०७८, बिहीबार २१:४७