
कभरखबर डेस्क ।
सल्यान अस्पतालमा केही दिन अघि आएको अक्सीजन प्लान्ट जोड्ने काम बिहिबार बाट शुरु हुने भएको छ । बुधवार आवश्यक सामाग्री सहित बायोमेडिकल इन्जिनियर टोली सल्यानका लागी हिडेको कर्णाली प्रदेशका पुर्व अर्थमन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो । उहाँका अनुसार टोलीले भोली बिहानबाट नै अक्सीजन प्लान्टका लागी पाइप बिछ्याउने काम शुरु गर्ने गरि प्राविवधिक टोली सल्यानका लागी हिडेको छ ।
जिल्लामा अक्सीजनको अभाव रहेको संक्रमितहरु पनि दिनानुदिन बढ्दै गएकाले प्रदेश सरकारले सल्यानलाइ पहिलो प्राथमिकतामा राखेर काम अगाडी बढाइ रहेका उहाँले बताउनुभयो । अहिले बजारमा अक्सीजन सिलिन्डरको अभाव रहेकाले आफुहरुले सक्दो प्रयास गरी रहेको र केही दिनमानै जिल्लामा थप नयाँ सिलिन्डर पठाउने योजना रहेको बताउनुभयो ।
जिल्लाको समस्यालाइ मध्यनजर गर्दै केही दिन अघि प्रदेश सरकारले प्रत्येक जिल्लामा एक करोड रुपैयाँ पठाइ सकेको जानकारी गराउँदै उहाँले अस्पतालमा रहेका अन्य समस्या र चाहिने आवश्यक रकमको लागी पनि अस्पताल व्यवस्थापनलाइ मागपत्र प्रदेश मन्त्रालयमा पठाउन भनेको बताउनुभयो ।
सल्यान अस्पतालमा दुइसय बेड बराबरको आइशोलेशन थप्न यस अघिनै मुख्यमन्त्रीले भनी सकेकाले काम छिटो छरितो शुरु गर्न र त्यसलाइ संचालन गर्न थप स्वास्थ्य सामाग्री र जनशक्तीका लागी खर्चको स्टमेट रकम पठाउन समेत उहाँले अस्पताल व्यवस्थापनलाइ आग्रह गरि सकेको बताउनुभयो ।
कर्णालीमा अहिले सबैभन्दा बढी अक्सीजनको समस्या रहेकाले प्रदेश कार्यालय अन्तरगत सामाजिक विकास मन्त्रालयबाट करिब साढे ५ करोड रकमबाट दुइ हजार सिलिन्डर खरिदका लागी टेन्डर आह्वान गर्न लागेको उहाँले बताउनुभयो ।
कोभिड जोखिम नियन्त्रणका लागी जिल्लाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, स्वास्थ्यकर्मी लगायतसंग प्रत्येक दिन फोन सम्पर्क र आवश्यक समन्वय भइ रहेको उहाँले बताउनुभयो । दुर्गममा रहेका सिकिस्त बिरामीको उद्दारका लागी प्रदेश सरकारकाले हेलिकप्टर भाडामा लिएर तत्काल प्रकृया अघी बढाउन लागेको समेत उहाँले जानकारी दिनुभयो ।
यता अस्पताल प्रशासनले क्षमता भन्दा बढी कोरोना संक्रमितहरु आउन थालेपछि उपचारमा समस्या भएको बताएको छ ।अहिले अस्पतालमा साना ठुला गरी ३५ वटा अक्सीजन सिलिन्डर छन् । र बिरामीहरुको चाप पनि बढेको छ ।
नेपालगन्ज पठाएका खाली सिलिन्डर समयमै आउन नसकेका कारण सो समयमा संक्रमितहरुलाइ अक्सीजन पुर्याउनै समस्या हुने गरेको डाक्टर प्रदीप शर्माले बताउनुभयो । उहाँले अक्सीजनको समस्या छिटो समाधान हुन सकेको खण्डमा भने काम गर्न केही मात्रामा सहज हुने बताउनुभयो ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका व्यवस्थापक दशरथ कुमार श्रेष्ठले अस्पतालले १सय ५९ वटा सिलिन्डरका लागी टेन्डर सुचना आह्वान गरेकाले अबको केही दिनमै अक्सीजनको समस्या समाधान हुनेमा विश्वस्त रहेको बताउनुभयो ।
सल्यानका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाँइले समस्या समाधानका लागी रात दिन नभनी आफुहरु लागी परेको बताउनुभयो ।
स्थानीय जनप्रतिनिधि, प्रदेश सरकार,जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश तथा संघीय साँसद,अन्तरजिल्लाका प्रमुखजिल्ला अधिकारी लगायतहरुसंग समन्वय भइ रहेको उहाँले बताउनुभयो । महामारीको यस्तो विषम परिस्थितीमा जिल्लामा स्वास्थ्य सामाग्रीमा कालो बजारी नगर्न समेत उहाँले व्यवसायीहरुलाइ आग्रह गर्नुभयो ।
प्रकाशित मिति: २९ बैशाख २०७८, बुधबार १७:०३