
कभरखबर डेस्क ।
स्वास्थ्य सेवा कार्यालय सल्यानमा अक्सीजन प्लान्ट भनेर जडान गरिएको अक्सिजन कन्सन्ट्रेटर खरीदमा अनियमितता गरेको भन्दै जिल्ला प्रशासन कार्यालय सल्यानमा उजुरी परेको छ।मेशिनमा लाखौं रकमको अनियमितता भएको भन्दै उजुरी परेपछि छानबिन समिती गठन गरिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।
कोभिड महामारीको दोस्रो चरणको शुरुवात संगै जिल्लामा संक्रमितहरु बढ्न थालेसंगै मृत्युहुनेहरुको संख्या पनि बढ्दै गइ रहेको समयमा जोखिम न्युनिकरण गर्न केहि दिन अघि सल्यान अस्पतालमा अक्सीजन प्लान्ट भनेर मेशिन खरिद गरियो ।
अक्सीनज प्लान्ट भनेर थन्क्याएर राखिएएको मेसिन अक्सीजन कन्सन्ट्रेटर भएको खुल्न आएपछि स्वास्थ्य सेवा कार्यालय सल्यानलाइ लाखौं रकम हिनामिना गरेको आरोप समेत लागेको छ । जिल्ला प्रशासन कार्यालय सल्यानमा आइतबार लिखित उजुरी परेपछि छानविन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाँइले बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काको संयोजकत्वमा कोलेनिकाको कर्मचारी र शारदा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख र बायोमेडिकल इन्जिनियर सदस्य रहेको छानविन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी होमागाँईले जानकारी दिनुभयो ।
मलाइ समेत अक्सीजन प्लान्ट खरिद गरेको जानकारी आएको थियो,उहाँले भन्नुभयो, सोही अनुसार छिटै काम सम्पन्न गर्न बारम्बार ताकेता गरेर जडान गर्न लगाइयो, तर अहिले आएर अक्सीजन प्लान्ट नभइ अक्सीजन कन्सन्ट्रेटर भएको खुल्न आएपछि तत्काल सम्बन्धित सरोकारवालाहरुसंग बैठक बसी छानबीन समिती गठन गरेका छौं,उहाँले थप्नुभयो ।
हाल लाइ भुक्तानी रोक्का गरेको र छानविन पछि घटनामा संल्गन दोषी जो कोहीलाइ पनि कारवाहीको दायरामा ल्याइने उहाँको भनाइ छ । यदि खरिद कर्ताले नै गडबढी गरेको पाइए उक्त कम्पनीलाई कालो सूचीमा राखिने समेत उहाँले बताउनुभयो ।
अक्सीजन प्लान्टका लागी कर्णाली प्रदेशबाट आएको रकम मध्ये ४० लाखको टेन्डर आह्वान गरेको र सोही रकमबाट ३९ लाखमा सुर्खेतको एक कम्पनीसंग सम्झौता पछि मेशिन अस्पतालमा आएको कार्यालयले जनायो ।
हामीले पनि अक्सीजन प्लान्ट भनेर नै मेशिन खरिद गरेका हौं, स्वास्थ्य सेवा कार्यालय सल्यानका व्यवस्थापक दशरथ श्रेष्ठले भन्नुभयो, विषय विज्ञता नभएका कारण अक्सीजन प्लान्ट हो या अक्सीजन कन्सन्ट्रेटर भनेर हामीले समेत थाहा पाएनौं। उनले अब सो कम्पनी र विषय विज्ञसंग परामर्श गरि अगाडी बढ्ने र तत्काल समस्या समाधान गर्न तर्फ लाग्ने बताउनुभयो ।
यता अस्पताल व्यवस्थापन समितीका अध्यक्ष सिपी वलीले भने यस विषयमा आफुलाइ कुनै जानकारी नरहेको बताउँछन् । कहिले बोलपत्र आह्वान्न भयो,कहिले खरीद भयो र कहिले उद्घाटन भयो मसंग केही समन्वय नै भएको छैन् ,उहाँले भन्नुभयो खरिद समितीले एकलौटी ढंगले खरीद गर्यो, मलाइ यस विषयमा कुनै जानकारी नै छैन् ।
३९ लाखमा खरिद गरिएको भनिएको अक्सिजन कन्सन्ट्रेटरलाई त्यतिधेरै पैसा नपर्ने चिकित्सकहरुले बताएका छन् । स्वास्थ्य सेवा कार्यालय सल्यानमा गत मंसिरमा आह्वान गरेको टेन्डरमा ड्रायोजन मेडिटेक प्रालि सुर्खेतले ठेक्का पाएको थियो ।
महामारीको समयमा यसरी सर्वसाधारणको स्वास्थ्यमाथी खेलवाड गरेको तथा सामाग्री खरीद प्रकृयामा लापर्वाही गरेको भन्दै स्थानीयहरु आक्रोसित बनेका छन् । स्वास्थ्य क्षेत्र सम्बन्धीको यस्तो सम्वेदनशील क्षेत्रमा समेत अनियमतिता भएको खबरले चौतर्फी आलोचना बढेको छ ।
प्रकाशित मिति: २ जेष्ठ २०७८, आईतवार १८:०९