
कभरखबर डेस्क ।
स्वास्थ्य सेवा कार्यालय सल्यानमा अक्सीजन प्लान्ट भनेर जडान गरिएको मेशिन अक्सीजन कन्सन्ट्रेटर भएको भनि चौतर्फी आलोचना भइ रहेको समयमा कर्णाली प्रदेश सुर्खेतबाट प्रदेश स्तरीय टोलीले अस्पतालको अनुगमन गरेको छ ।
जिल्लामा विवादित बनेको अक्सीजन प्लान्ट लगायत अस्पतालका अन्य विषयमा अनुगमन गरिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा शाखा प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीले जानकारी दिनुभयो ।
अनुगमन पश्चात जिल्ला स्थित पत्रकारहरुसंग कुरा गर्दै उहाँले आफुहरुको टीममा बायोमेडिकल इन्जिनियर पनि रहेको जानकारी दिंदै उहाँले अहिले चर्चाको विषय बनेको अक्सीजन प्लान्ट वा कन्सन्ट्रेटर भनिएका विषयबारे पनि अनुगमन गरेको बताउनु भयो ।
अस्पतालमा जोडिएको मेशिन के हो भन्ने प्रश्नमा भने अनुगमन टोलीले अहिले नै जवाफ दिंदैनौ पर्सी सम्म अनुगमन प्रतिवेदन सामाजिक मन्त्रालयमा पेश गर्ने बताउनुभयो । प्राविधिक विषयमा सबै कुरा अहिलेनै थाहा नहुने र सो सबै कुरा प्रतिवेदनमा समावेश गर्ने उहाँले बताउनुभयो ।
काम गर्ने सिलसिलामा कसैले गल्ती गरेको भए सजायको भागीदार हुने भन्दै उहाँले अनुगमन प्रतिवेदन तयार गर्दा सम्म सबैले धैर्य गर्न आग्रह गर्नुभयो ।
जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको छानबिन समितीले समेत अनुगमन गरी घटनाका विषयमा सत्यतथ्य बाहिर ल्याउने बताउँदै डाक्टर तिवारीले केहि समय प्रतिक्षा गर्न सबैलाइ आग्रह गर्नुभयो ।
उहाँले अस्पतालमा विवादमा रहेको अक्सीजन प्लान्ट बाहेक अन्य सेवा भने प्रभावकारी रहेको बताउनुभयो ।
प्रकाशित मिति: ५ जेष्ठ २०७८, बुधबार १६:४४