कपुरकोट गाउँपालिकाद्धारा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण

कभरखबर डेस्क ।

व्यवसायमा सहयोग पुर्‍याउने उद्देश्य सहित सल्यानमा लघु उद्यमीहरुलाई विभिन्न सामग्री सहयोग गरिएको छ । जिल्लाको कपुरकोट गाउँपालिकाले तरकारी खेती तथा बाख्रा पालन गरिरहेका लघु उद्यमीहरुलाई सोमबार प्रविधि हस्तान्तरण गरेको हो ।

गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सोमबार कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले व्यवसायिक तरकारी खेति गरिरहेका २५ जना लघु उद्यमीहरुलाई खेतिका लागि आवश्यक पर्ने प्रविधि हस्तान्तरण गर्नुभयाे  । हस्तान्तरण गरिएका प्रविधिमा थोपा सिंचाई प्रविधि, स्प्रे टंकी, पञ्जा, मास्क, एप्रोन तथा बुट रहेका छन् ।

प्रविधि हस्तान्तरण गर्दै अध्यक्ष सेनले गाउँपालिकाले दिएको सामग्रीलाई आफैले किनेको सोचेर उपयोग गर्न आग्रह गर्नुभयाे। पालिकालाई समृद्धि तर्फ लैजान कृषि क्षेत्रको विकासमा  जोड दिने पर्ने सेनले बताए । गाउँपालिका क्षेत्रमा नयाँ उद्यम सिर्जना गर्न र उद्यम सञ्चालनका लागि आवश्यक पर्ने तालिम र प्रविधि हस्तान्तरणसम्मको कार्य गरिरहेको अध्यक्ष सेनले बताउनुभयाे । यसबाट गाउँपालिका क्षेत्रका बासिन्दाको आयस्तरमा वृद्धि हुनुका साथै रोजगारीका अवसर सिर्जना हुने र युवाले रोजगारीका लागि अन्यत्र भौँतारिँदै हिँड्नु नपर्ने उहाँकाे भनाइ थियाे ।

यस्तै कपुरकोट गाउँपालिकामा बाख्रापालन व्यवसाय गरिरहेका ४२ जना उद्यमीलाई खोर निर्माणका लागि जस्ता पाता  प्रदान गरिएको छ । प्रति उद्यमी १ बण्डलका दरले ४२ जनालाई जस्ता पाता प्रदान गरिएको लघु उद्यम विकास कार्यक्रम संयोजक दिपेन्द्र शाहीले जानकारी दिनुभयाे । गाउँपालिकामा दर्ता भएका लघु उद्यमीहरुलाई सामग्री प्रदान गरिएको हो । गाउँपालिकाको ८० प्रतिशत र उद्यमीको २० प्रतिशत लगानीमा सामग्रीहरु वितरण गरिएको उहाँकाे भनाइ थियाे ।

संयोजक शाहीका अनुसार कपुरकोटका ६ वटै वडाहरुमा सिप विकास तालिम पनि सञ्चालन गरिएको छ । साबुन बनाउने तालिम, पशुपालन तालिम, च्याउ खेती तालिम तथा च्याउको विउ वितरण, कटाई सिलाई तालिम संगै मेसिन वितरण जस्ता कार्यक्रमहरु चालु आर्थिक वर्षमा सम्पन्न गरिएको उहाँले बताउनुभयाे ।

प्रकाशित मिति: २१ असार २०७८, सोमबार २२:१२