गर्भावस्था र सुत्केरी भएपछि पोषिलो खानेकुरा र सरसफाइमा बढी ध्यान दिनुपर्नेमा जोड

 सल्यान ।

सुनौला दिनहरूमा विशेषगरी गर्भवती अवस्था र सुत्केरी भएपछि आमाले पोषिलो खानेकुरा र सरसफाइमा बढी ध्यान दिनुपर्नेमा जोड दिदै सल्यानमा समन्वयात्मक बैठक सम्पन्न भएको छ ।

कपुरकोट गाउँपालिकाले वडा नम्बर ४ स्थित गाँडापानी र धनवाङमा सुनौलो एक हजार दिनका महिला तथा उनीहरुको घरपरिवारकोवीच स्वच्छता समन्वय बैठक सम्पन्न गरेको हो ।

बैठकमा पूर्ण सरसफाई, खेर गएको पानीलाई उपयोग गरेर करेसाबारीमा ताजा तरकारी खेति गर्ने, करेसाबारी ब्यवस्थापन लगायतका विषयमा छलफल गरिएको थियो ।

बैठकमा आफ्नो मन्तव्य राख्दै वडा नं ४ का वडा अध्यक्ष हरिलाल पुनले सुनौला कर्णधार तयार गर्ने जिम्मा भनेको आमाको मात्र नभई बाबु र परिवार सबैको भएको बताउनुभयाे ।

उहाँले दीर्घकालीन कुपोषणबाट बचाउनका लागि गर्भावस्था र बच्चा जन्मीएपछी दुई वर्ष सम्म खानपिन, सरसफाईमा विशेष ध्यान दिन आग्रह गर्नुभयाे।

यस्तै आधारभुत स्वास्थ्य केन्द्र धनवाङका इन्चार्ज बिर बहादुर थापाले बच्चाको ८० प्रतिशत वृद्धिविकास गर्भावस्थादेखि दुई वर्षका बीचमा हुने हुँदा सो समयलाई सुनौलो अवधि भन्ने गरिएको बताउनुहुन्छ ।

उनले गर्भावस्था तथा महिला सुत्केरी भइसकेपछी आमा, बावु र घरपारिवारका सदस्यले ध्यान दिनुपर्ने विषयहरु, पूर्ण सरसफाई र स्वच्छताका विषयमा अभिमुखिकरण गरेका थिए ।

यस्तै रेडियो कपुरकोटका कार्यकारी प्रमुख सन्तोष घर्तीले करेसाबारी निर्माण गरेर शुद्ध, ताजा र जैविक सागसब्जी प्राप्त गर्न सकिने बताउनुभयाे ।

घरमा करेसाबारी बनाउँदा जैविक सागसब्जी मात्र खान पाइने मात्र नभई यसले अरु थुप्रै फाइदा पुग्नेमा उहाँकाे जोड थियो । बैठकको सहजिकरण शंकर केसीले गरेका थिए ।

प्रकाशित मिति: २३ असार २०७८, बुधबार १९:२५