दुइ दिनमा तीन बलात्कारका मुद्धा फैसला, दुइ आरोपित र एक उजुरीकर्तालाइ कार्वाही

कभरखबर डेस्क ।
सल्यानमा विगत दुइ दिनमा तीनवटा बलात्कार घटनाका मुद्धा फैसला भएका छन् । १४ वर्षीया बालिकालाइ बलात्कार कसुरमा जिल्ला अदालत सल्यानले सोमवार कपुरकोट गाउँपालिका–६ निवासी १५ वर्षीय बालकलाइ १२ वर्ष कैदको फैसला गरेको छ ।

कसुर ठहर भएपछि जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले उक्त फैसला गरेपनि आरोपित बालक भएका कारण ६ वर्ष कैद मिनाहा गरी ६ वर्षमात्रै कैद भुक्तान गर्नुपर्ने जिल्ला अदालतका श्रेस्तेदार हेमन्त ज्ञवालीले जानकारी दिनुभयो ।

पीडित बालिकालाइ ०७६ चैत १६ गते बालकले बलात्कार गरेको भन्दै पीडितपक्षले इलाका प्रहरी कार्यालय लुहाममा ०७७ बैशाख १ गते जाहेरी दिएपछि आरोपितलाइ प्रहरीले सोही दिन गिरफ्तार गरेको थियो ।

यस्तै ४० वर्षीया महिलालाइ बलात्कार तथा हाडनाताकरणी कसुरमा जिल्ला अदालत सल्यानले सोमवार शारदा नगरपालिका –८सिमखर्क निवासी ३८ वर्षीय पुरुषलाइ ११ वर्ष कैद र ४० हजार जरिवानाको फैसला गरेको छ ।

भाउजु नाता पर्ने महिलालाइ झारफुकको बहानामा देवर नाता पर्ने पुरुषले ०७७ साउन २० गते बलात्कार गरेको पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले साउन २९ गते गिरफ्तार गरेको थियो । कसुर ठहर भएपछि जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले गत मंगलवार उक्त फैसला गरेको हो ।

बलात्कारको झुटो जाहेरी दिने महिलालाइ एक हजार जरिवाना

२८ वर्षीया महिलाले आफुमाथी बलात्कार भएको भन्दै दिएको मुद्धा झुठो ठहर भएपछि जिल्ला अदालत सल्यानले मंगलवार महिलालाइ १ हजार जरिवाना र आरोपितलाइ सफाइको फैसला गरेको छ ।

०७७ बैशाख २७ गते शारदा नगरपालिका–८ सिमखर्क निवासी ३३ वर्षीय यतलाल यरीले बलात्कार गरेको भन्दै ती महिलाले ०७७ बैशाख २८ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा जाहेरी दिएकोमा ०७७ भदौ ८ गते प्रहरीले आरोपितलाइ गिरप्mतार गरेको थियो ।

कसुर ठहर नभएपछि जिल्ला अदालत सल्यानले महिलाले दिएको जाहेरी झुटो भएको भन्दै कार्वाही स्वरुप महिलालाइ १ हजार जरिवानाको फैसला गरेको हो ।

 

प्रकाशित मिति: ३० असार २०७८, बुधबार ०७:०९