कभर खबर

  • १४ श्रावण २०७८, बिहीबार १९:०७

सल्यानमा जेष्ठ नागरिकलाइ कार्यालय सहयोगीले कोरोना खोप लगाएपछि

सल्यान ।
सल्यानको शारदा नगरपालिका –१३ स्थित स्वास्थ्य चौकी स्यानीखालमा कार्यालय सहयोगीले कोरोना भाइरस बिरुद्धको खोप लगाएको खुल्न आएको छ । साउन १३ गते ५५ बर्ष माथिका जेष्ठ नागरिकहरुलाई कार्यालय सहयोगी गिता भण्डारीले खोप लगाइ दिएपछि स्थानीयले विरोध गरेका छन् ।

स्वास्थ्य चौकीमा कार्यरत इन्चार्ज, अनमी हुदाहुदैँ करारमा कार्यरत कार्यालय सहयोगीले आफ्नो क्षेत्राधिकार बाहिर रहेर कोरोना बिरुद्धको खोप लगाइदिएपछि केही स्थानियले आक्रोस पोखेका छन् । उनीहरुले स्वास्थ्य मापदण्ड विपरित रहेर कार्यालय सहयोगीले साउन १३ गते दिनभर नै ५५ बर्ष माथिका नागरिकहरुलाई खोप लगाइएको बताएका छन् ।

तर केहीले भने कार्यालय सहयोगीले लामो समयदेखी स्वास्थ्य चौकीबाट सेवा दिदै रहेकाले खोप लगाउन समस्या नभएको प्रतिकृया दिएका छन् । स्थानीय शिक्षक दिपेन्द्र भण्डारीले आफुलाइ पनि कार्यालय सहयोगीले नै खोप लगाइ दिएको तर खोप लगाए पश्चात कुनै समस्या नभएको बताउनुभयाे ।

तर केही स्थानीयहरुले भने कार्यालय सहयोगीले खोप लगाइदिने कार्य राम्रो नभएको बताएका छन् । ‘यो नागरिकको स्वास्थ्य माथि गरिएको खेलवाड हो, कार्यालय सहयोगीलाई खोप कसरी लगाउने भन्ने बारेमा ज्ञान नै हुदैन्, यदी खोपले हड्डि भेटाएको अवस्थामा वा कुनै समस्या भएको भए जिम्मेवार को हुन्थ्यो’ नाम न खुलाउने भन्दै एक स्थानीयले भन्नुभयाे ‘यस्ता कार्य रोक्न सरोकारवालाहरुको ध्यान जाओस ।’

कार्यालय सहयोगी भण्डारीले आफुले कोरोना बिरुद्धको खोप लगाउन आएका नागरिकको नाम दर्ताको काम मात्रै गरेको तर खोप नलगाएको भनेर बचाउ गर्नु भएकाे छ । तर सोही स्वास्थ्य चौकीमा कार्यरत करार अनमी राधिका बुढाथोकीले भने कार्यालय सहयोगीले आफुलाई कोरोना खोप लगाउन नदिएको प्रतिकृया दिनुभयाे।

बुधवार दिउँसो र बिहिवार बिहान सम्म कार्यालय सहयोगीले खोप लगाएको उहाँले बताउनुभयाे । नगरपालिकाले आफुलाइ करार कर्मचारी भनेर स्वास्थ्य संस्थामा पठाएपनि कार्यालय सहयोगीले काम गर्न नदिएको उहाँको भनाइ छ ।
शारदा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र हमालले कार्यालय सहयोगीले नै कोरोना बिरुद्धको खोप लगाइदिने कार्य गलत भएको बताउनुभयाे। उहाँले कार्यालय सहयोगीको काम कार्यालय सरसफाइ गर्ने भएकाले आफ्नो कार्यक्षेत्र भन्दा बाहिर गएर खोप लगाउन नहुने तर कारोना खोप लगाएको थाहा पाएपछि उहाँलइ खोप लाउन नदिएको बताउनुभयाे ।

‘कार्यालय सहयोगीले खोप लगाइदिन मिल्दैन्, उ सरसफाइमा खटिने कर्मचारी हो, स्वास्थ्य सम्बन्धी केही पढेकै छैन्, उसलाई खोप लगाइ दिने अधिकार नै छैन्’उहाँले भन्नुभयाे, ‘त्यो कार्य स्यानिखालमा हिजो भएको हो, स्वास्थ्यकर्मी बाहिर गएको रहिछन्, त्यही भएर कार्यालय सहयोगीले एकैछिन खोप लगाइदिएको रहिछ, हामीले त्यसो नगर्न भनेपछि त्यो कार्य बन्द गरिएको हो ।

उहाँले अहिले नगरपालिकामा कार्यालय प्रमुख बाहिर रहेको र उहाँ कार्यालयमा उपपिस्थत भएपछि यस विषयमा छलफल गरेर टुंगो लगाउने बताउनुभयाे ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले कार्यालय सहयोगीले नागरिकहरुलाई कोरोना बिरुद्धको खोप लगाइदिन नपाउने बताउनुभयाे । उहाँले यसबारेमा आफुले बिस्तृतमा बुझ्ने प्रतिक्रिया दिनुभयो ।

यसपटक ५५ वर्ष उमेर पुगेका नागरिक, शिक्षक, खोपको पहिलो मात्रा समेत नलगाएका, अपांगता भएका ब्यक्ति तथा सार्वजनिक यतायातका चालक तथा सहचालकलाई गरेर जिल्लामा झण्डै १७ हजार नागरिकलाई पुग्ने गरी खोप आएको छ । यसअघि जिल्लाका झण्डै १५ हजार नागरिकले कोरोना बिरुद्धको खोप लगाइसकेका छन् ।

प्रकाशित मिति: १४ श्रावण २०७८, बिहीबार १९:०७