राउटे समुदायमा एकल महिलाको संख्या बढ्दो जनसंख्या घट्दो


लोपोन्मुख राउटे समुदायमा एकल महिलाको संख्या बढ्दा जनसंख्या घट्दै गएको छ । पछिल्लो समय राउटे समुदायमा १३ जना एकल महिला रहेका छन् ।अत्यधिक मदिरा सेवनका कारण राउटे समुदायका पुरुषहरुको मृत्यु भएपछि सानै उमेरमा एकल महिलाको जीवन यापन गर्नु परेको छ । राउटेको संस्कार अनुसार उनीहरूले दोस्रो विवाह गर्न पाउँदैनन् ।

राउटे महामुखिया मैनबहादुर शाहीका अनुसार समुदायमा एकल महिलालाई उल्टो ढोका भएको छुट्टै घर बनाएर राख्ने चलन छ । ‘हामी उनीहरूको इच्छाभन्दा चलेको परम्परामा ध्यान दिन्छौं,’ उनले भने, ‘पुस्तौंदेखि चलिआएको संस्कार भएकाले परिवर्तन गर्न गाह्रो छ ।’ उनका अनुसार राउटे युवतीहरू सानै उमेरमा एकल हुनुको कारण गोत्र पनि हो राउटे समुदायमा रास्कोटी, स्ववंशी र कल्याल गरी ३ किसिमका शाहीहरूको बसोबास छ ।

उनीहरूबीच एकअर्काको थरमा मात्र विवाह हुन्छ । समुदायमा कल्यालको संख्या धेरै भएकाले स्ववंशी र रास्कोटी थरका किशोरीको चाँडो विवाह हुने गरेको उनले बताए । एउटै थरका युवाहरू धेरै हुँदा बालविवाह र अनमेल विवाह धेरै हुने गरेको उनले जानकारी दिनुभयो ।अनमेल र बालविवाहका कारण राउटे युवतीहरू सानै उमेरमा एकल बन्दा र उनीहरूले दोस्रो विवाह गर्न नपाउँदा राउटेको जनसंख्या घटिरहेको महामुखिया शाहीले बताउनुभयो ।

‘हाम्रो समुदायमा कसैको १२ वर्ष नपुग्दै विहे हुन्छ भने कोहीको ४० वर्षसम्म विवाह नै हुँदैन,’ उहाँले भन्नुभयो, ‘युवालाई पनि अर्को थरको छोरी जन्मिए १०÷१२ वर्ष पुग्ने बेलासम्म विवाह कुनुपर्ने बाध्यता छ ।’समुदायमा श्रीमान् गुमाएका महिलाले विहे गर्नु अपराध मानिने मुखिया सूर्यनारायण शाही बताउनुहुन्छ उहाँका अनुसार बस्तीमा अहिले राउटेको संख्या १ सय ४२ मात्र छ । त्यसमध्ये ८१ जना कल्याल, ४० जना रास्कोटी र २१ जना स्वंवंशी थरका छन् । जहाँ महिलाको संख्या ७५ छ भने पुरुष ६७ जना मात्र छन् । स्ववंशीमा त पुरुषको संख्या ८ मात्रै छ ।

प्रकाशित मिति: २ भाद्र २०७८, बुधबार १८:४१