आकस्मिक उद्धारकालागि सबुजगणको श्रमदानबाट सल्यानमा हेलिप्याड निर्माण हुँदै



दुर्गम बस्तीबाट आकस्मिक उद्धारकालागि नेपाली सेनाको श्रमदानबाट जिल्लाका १० वटा स्थानीय तहमा हेलिप्याड निर्माण कार्य भइ रहेको छ । सरकारले गर्भवती, सुत्केरी, नवजात शिशुको उपचारका साथै दुर्घटनाका गम्भीर घाइतेहरुको सहज उपचारका लागि दुर्गम क्षेत्रमा ‘एयर एम्बुलेन्स’ सुरु गरेपछि सल्यानका विभिन्न स्थानमा हेलिप्याड निर्माण कार्य शुरु गरिएको हो ।


आकस्मिक सेवाका लागी आप्mनै गाउँठाउँमा हेलिप्याड निर्माण हुन थालेपछि स्थानीय पनि हर्षित भएका छन् । हेलिप्याड निर्माण भएपछि आर्थिक अवस्था सम्पन्न नभएपनि ग्रामीण भेगका सुत्केरी व्यथा लागेका महिला तथा तत्काल बाहिरी जिल्लामा पठाउनुपर्ने अवस्थामा तत्काल उद्धार गर्न सहज हुने स्थानीयले अपेक्षा गरेका छन् ।


बागचौर नगरपालिका निवासी गौरी डिसीले दुइ वर्ष अघि मृत्यु भएका बुवालाइ सम्झदै भन्नुभयो,हामीले बुवालाइ बचाउने अनेकौं प्रयास गर्यो,तर सकेनौ ।बुवाको आन्द्रा फुटेको रहेछ,जिल्ला अस्पताल सल्यानमा पुर्याएपछि थाहा भयो, अस्पतालले नेपालगन्ज रिफर गर्यो,कपुरकोटमा दुइ घण्टा जाममा परियो, समयमा अस्पताल पुर्याउन नसक्दा बुवा बाटोमै बित्नुभयो।


अहिले हाम्रै गाउँठाउँमा हेलिप्याड बन्दै छ,पैसा हुनेलाइ त सजिलो हुने नै भयो, बिरामी परेका तर आर्थिक अवस्था कमजोर भएकालाइ पनि कसैले सहयोग गर्यो भने त उपचार पाउलान र बाँच्न पनि पाउने भए, यो कुराले मन खुशी भएको छ । आप्mनो बुवा बिरामी भएको समयमा यस्तै आकस्मिक उद्धारका लागी पुर्व तयारी भएको भए बुवा बाँच्नुहुन्थ्यो कि भन्ने लाग्छ,उहाँले भन्नुभयो ।


स्थानीय तहको निर्माण सामग्री र नेपाली सेना सबुजगण मिखर्क ब्यारेकको श्रम लगानीमा हेलिप्याड निर्माण भएपछि आकस्मिक बिरामी र दुर्घटनाका घाइतेको तत्काल उद्धार तथा विपद् व्यवस्थापनमा सहज हुने जनप्रतिनिधिहरुको विश्वास छ । सदरमुकामबाट दुर दराजमा रहेका ग्रामीण बस्तीहरुमा आकस्मिक उद्धारका लागी समस्या हुने देखिएपछि हेलिप्याड को आवश्यकता महसुस गरिएको दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले बताउनुभयो ।


बर्षातको समयममा होस अथवा अन्य समयमा ग्रामिण बस्तीबाट सुत्केरी महिला,तथा अन्य बिरामी जसलाइ तत्काल बाहिर पुर्याउनु पर्छ त्यस्तो समयमा बाटोमै ज्यान जान सक्ने जोखिमलाइ मध्यनजर गर्दै हेलिप्याडको निर्माण थालिएको उहाँको भनाइ छ । यस कार्यमा नेपाली सेनाले गरेको योगदानको प्रशंसा गर्दै अध्यक्ष केसीले पालिकाको निर्माण सामाग्रीमा श्रमदान गरेर सहयोग गरेकोमा सबुजगण सिमखर्क ब्यारेकलाइ धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,नेपाली सेनको काम सराहनीय छ, यस अघिपनि नेपाली सेनाले गाउँपालिकामा स्वास्थ्य भवन निर्माण कार्यमा समेत सहयोग गरेको थियो ।


सल्यानमा विपद्को पूर्वतयारीका लागि सबै स्थानीय तहमा हेलिप्याड बनाउने उद्देश्यले निर्माणको काम भइ रहेको छ । नेपाली सेनाको श्रम लगानीमा शुरु भएको हेलिप्याड निर्माण कार्यपछि स्थानीयलाइ अत्यावश्यक स्वास्थ्य उपचार सेवामा सहज हुने बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीको भनाइ छ । हामीले नेपाली सेनाको सहयोगमा नाइट भिजन हेलीप्याड निर्माणको अन्तिम चरणमा छौं,उहाँले भन्नुभयो,निर्माण कार्य सम्पन्न भएपछि यहाँका जनताले आकस्मिक सेवा लिन पाउने छन् ।


जिल्लामा विपद व्यवस्थापन पुर्व तयारी अनुरुप नेपाली सेनाको सबुजगण सिमखर्क ब्यारेकले सल्यानका सम्पुर्ण पालिकामा हेलिप्याड निर्माण गर्ने बताएको छ । स्थानीय तहसँगको सहकार्यमा हेलिप्याड निर्माण भएपछि स्वास्थ्य सेवा तथा अन्य आकस्मिक उद्धारमा सहज हुने सवुझ गणका गणपति प्रमुख सेनानी कञ्चन कृष्ण बस्नेतका अनुसार सातवटा पालिकाको पायक पर्ने स्थानमा हेलिप्याड निर्माण भइ सकेको र बाँकी अन्य पालिकाको केन्द्रमा पनि काम गर्ने तयारीमा छौं ।


समुदायका समस्या पहिचान गर्दै त्यस्ता कार्यमा श्रमदान गरी रहेको नेपली सेनाले समयमै काम सम्पन्न गर्नका लागी वर्षातको समयमा पनि काम गरिरहेको छ । सहज रुपमा यातायातको पहुँच बाहिर रहेकका स्थानमा यसरी हेलिप्याड बनेपछि स्थानियलाई आकस्मीक स्वास्थ्य सेवाका लागी सहज हुनेछ ।

प्रकाशित मिति: ११ भाद्र २०७८, शुक्रबार १२:५८