राप्तीमा स्वास्थ्य संस्थाको बार्षिक समिक्षा,महामारीका कारण लक्ष्य प्राप्ती गर्न कठिनाई


तिर्थराज ज्ञवाली, मसुरीया(देउखुरी दाङ)


राप्ती गाउँपालिका भित्रका स्वास्थ्य संस्थाहरुको सेवा प्रवाहका वारेमा गरिएको समिक्षा कार्यक्रममा गत वर्षको लक्ष्य पुरा गर्न यस वर्ष थप काम गरिने बताईएको छ ।गत वर्ष कोभिड १९ को दोस्रो चरणको महामारीका कारण नियमित क्रियाकलाप सहज तवरले गर्न नपाईएको कारण वार्षिक लक्ष्य पुरा हुन नसकेको जानकारी गर्दै यस आर्थिक वर्षमा लक्ष्य प्राप्तीको लागि थप कार्यक्रम सुरु गरिने स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिनु भयाे ।


राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा २ वटा स्वास्थ्य चौकी, २ वटा आधारभुत स्वास्थ्य सेवा केन्द्र तथा ५ वटा स्वास्थ्य इकाइको समिक्षा गरिएको हो ।सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको प्रमुख आथित्यतामा स्वास्थ्य संस्थाको गत आर्थिक वर्षमा गरिएको कार्य प्रगतिको समिक्षा गरिएको हो । समिक्षामा स्वास्थ्य संस्था प्रमुखहरुले प्रतिबेदन प्रस्तुत गरिए संगै हुन नसकेका र गर्नु पर्ने विषयमा सहभागीहरुद्धारा सल्लाह सुझाव तथा प्रतिक्रिया दिईएको छ ।


राप्ती गाउँपालिका क्षेत्रका स्वास्थ्य संस्थाहरको समिक्षा कार्यक्रममा सरोकारवाला तथा सहभागीको तर्फवाट स्वास्थ्य संस्थाहरुले प्रदान गदै आएका सेवामा पोषण बृद्धि अनुगमन गर्नु पर्ने, स्वास्थ्य ईकाइको स्तर बृद्धि गर्नुपर्ने, संस्थागत सुत्केरी बढाउनुपर्ने, नियमित खोप सेवा प्रदान गर्ने, गर्भवति तथा सुत्केरी जाँच क्षेत्र बढाउनु पर्ने, परिवार नियोजन सेवाग्राहि संख्या निश्चित गर्नुपर्ने, खोपकेन्द्रमा कर्मचारी थप गर्नु पर्ने तथा सबै स्वास्थ्य संस्थाबाट कोभिड खोप सञ्चालन गर्नुपर्ने लगायतका सल्लाह तथा सुझाव दिईएको छ ।

प्रकाशित मिति: १५ भाद्र २०७८, मंगलवार १७:४४