सल्यानको एक विद्यालयमा २५ लाख बराबरको पाँच हजार बढी पुस्तक सहयोग

सल्यानको एक विद्यालयमा विभिन्न १० विधाका साढे पाँच हजार बढी पुस्तक सहयोग प्राप्त भएको छ । कपुरकोट गाउँपालिकाको २ नम्बर वडामा रहेको विरेन्द्र माध्यमीक विद्यालयको पुस्तकालयमा पाँच हजार पाँच सय ९४ थान पुस्तक सहयोग प्राप्त भएको हो । कपुरकोट गाउँपालिका र कर्णाली जनजागरण युवा मञ्च नेपालको सहयोगमा सोमबार २५ लाख चार हजार नौ सय ८२ रुपैयाँ बराबरको पुस्तक विद्यालयलाई हस्तान्तरण गरिएको हो । गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष भिम बहादुर सेन, उपाध्यक्ष तिला बुढा, शिक्षा अधिकृत सरस्वति भण्डारी र मञ्चका अध्यक्ष कटक बहादुर शाहीले विरेन्द्र माविका अध्यक्ष ओम बहादुर बुढा र प्रअ डिल बहादुर नेपालीलाई पुस्तक हस्तान्तरण गरे ।

हस्तान्तरण गरिएका पुस्तकहरु साहित्यीक, धार्मिक, सामाजिक, भाषा कला संस्कृती, इतिहाँस, विज्ञान लगाएत विभिन्न १० विधाका छन् । समुदायमा रहेका हरेक क्षेत्रमा रुची राख्ने पाठक र उनीहरुलाई आवश्यक पर्ने पुस्तकहरु रहेकाले हरेकलाई उपयोगी हुने गाउँपालिका अध्यक्ष सेनले बताए । उनले विभिन्न कुरा र विषयको ज्ञान पाउन तथा समयलाई उपयुक्त तरिकाले उपयोग गर्नका लागि पुस्तक पढ्ने बानीको विकास गर्नुपर्नेमा पनि जोड दिए । साथै सर्वसाधारणमा पुस्तकालयले के के प्रभाव पा¥यो, पठनसंस्कार र सामाजिक अवस्थामा के के परिवर्तन ल्यायो, जनजीवनमा के के उपलब्धि हासिल भए भन्ने बारेमा मापण गर्नु जरूरी रहेको अध्यक्ष सेनले बताए ।

विरेन्द्र माविका प्रअ नेपालीले सहयोग प्राप्त पुस्तकहरु विद्यालयको पुस्तकालयमा ब्यवस्थित तरिकाले राख्ने बताए । मानिसलाई ज्ञान आर्जन गर्न निकै सहज बनोस् भनेर कर्णालीका विभिन्न जिल्लाका विद्यालयमा पुस्तक सहयोग गर्ने कार्यक्रम अघि सारिएको कर्णाली जनजागरण युवा मञ्च नेपालले जनाएको छ । कपुरकोट सहित कर्णालीका विभिन्न १९ वटा विद्यालयका पुस्तकालयमा स्थानीय तहहरुसंग साझेदारी गरेर पुस्तकहरु उपलब्ध गराइएको मञ्चका कार्यसमिति सदस्य मोहनवीर शाहीले बताए । उनका अनुसार अन्य १० वटा विद्यालयलाई प्रति विद्यालय ४ कार्टुनका दरले पुस्तक सहयोग गरिएको छ । पुस्तकालयको सञ्चालन, विस्तार, व्यवस्थापन र प्रयोगलाई आत्मासाथ गर्दै अध्ययन संस्कृतिको विकासमा अघि बढ्नुपर्ने मञ्चका फिल्ड कोअर्डिनेटर चन्द्रसुर्य शाहीको भनाई छ ।

प्रकाशित मिति: ४ आश्विन २०७८, सोमबार १८:००