कभर खबर

  • ५ कार्तिक २०७८, शुक्रबार १५:०४

स्थानीय तहका समस्या पहिचान गरी वकालतीय रणनीति योजना निर्माण गरिने

सल्यान, ५ कार्तिक ।

गाउँपालिकाभित्रका विभिन्न क्षेत्रको समस्या पहिचान गरी वकालतीय रणनीति योजना निर्माण गर्दे उद्देश्यले सल्यानमा तीन दिने कार्यशाला शुक्रबारदेखी शुरु भएको छ । सुशासनमा नागरिक सहभागीता कार्यक्रम अन्तर्गत सामुदायीक संस्था र समुहका सदस्यहरुका लागि कपुरकोट गाउँपालिकामा तीन दिने कार्यशालाको आयोजना गरिएको हो ।

कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघ कर्णालीका अध्यक्ष भिम बहादुर सेनले सुशासन अभिवृद्धिका लागि नागरिक समाजको पनि उत्तिकै दायीत्व रहेको बताए । कपुरकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका सेनले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार लगाएतका क्षेत्रको विकासमा स्थानीय सरकारको ध्यान पुग्न नसकेको भए त्यसलाई औँल्याएर आफुहरुलाई खबरदारी, सुझाव र सल्लाह दिन उनले आग्रह गरे । आफुकहाँ समस्या पहिचान भइ आएमा त्यसको समाधानको लागि र सुधार गर्नुपर्ने विषयलाई पनि सच्याएर अगाडी बढ्न प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

युरोपियन युनियन सहकर्मी समाज, दलित विकास समाज, दलित महिला केन्द्र, आई एम स्विडिस डेभलपमेन्ट पार्टनर, तेर दे जोमको सहयोगमा कार्यशालाको आयोजना गरिएको हो । कार्यशालाबाट पहिचान भएका समस्याहरुको वकालतीय रणनीति योजना निर्माण गरी सामुदायीक संस्था र समुहका सदस्यहरुले गाउँपालिकामा पेश गर्ने जनाएका छन् । कार्यशालामा सुशासनमा नागरिक सहभागीता कार्यक्रम सल्यानका संयोजक गुमानसिंह नेपालीले प्रशिक्षण गरिरहेको सामुदायीक सहजकर्ता विष्णु प्रसाद गौतमले जनाएका छन् ।

प्रकाशित मिति: ५ कार्तिक २०७८, शुक्रबार १५:०४