कभर खवर

  • २९ कार्तिक २०७८, सोमबार २१:१२

कपुरकोट गाउँपालिकालाई स्वच्छ सफा र पोषणयुक्त बनाउन ३२ लाख बढी लगानि गरिने

सल्यान, २९ कार्तिक ।

सल्यानको कपुरकोट गाउँपालिकालाई स्वच्छ सफा र पोषणयुक्त बनाउनका लागि चालु आर्थिक वर्षमा ३२ लाख ४१ हजार रुपैयाँ लगानि गरिने भएको छ । जस अन्तर्गत सोमबार पोषण संवेदनशिल कार्यक्रम सञ्चालनका लागि १५ लाख १६ हजार ७०३ रुपैयाँ बाँडफाड गरिएको छ । पालिका स्तरिय पोषण तथा खाद्य सुरक्षा सुरक्षा निर्देशक समितिका पदाधिकारी लगायत सरोकारवाला निकायका व्यक्तिहरुलाई अभिमुखिकरण संगै पोषण संवेदनशिल कार्यक्रम अन्तर्गत बजेट बाँडफाड गरिएको हो ।

निर्देशक समितिका अध्यक्ष तथा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले शिक्षा, खानेपानी तथा सरसफाई, महिला तथा बालबालिका, र कृषि क्षेत्रसँग समन्वय गर्दै पोषणसँग सम्बन्धी कार्यक्रमहरुको कार्यान्वयन गरिने बताए । विशेष गरेर बालबालिकाको शुरूवाती वर्षहरुमा पोषणमा गरिने लगानीले वालवालिका सहित उनीहरूका परिवार र समग्र समुदायलाई नै दीर्घकालीन प्रतिफल दिने बताए ।

गाउँपालिकामा पोषण संवेशनशिल कार्यक्रम अन्तर्गत महिला तथा वालवालिका, शिक्षा, खानेपानी तथा सरसफाई, कृषि विकास, पशुपन्छी विकास र स्वास्थ्य क्षेत्रका लागि एक लाख पचास हजारको दरले बजेट बाँडफाड गरिएको छ भने प्रशासकीय प्रवन्धका लागि ६ लाख ६१ हजार ७०३ रुपैयाँ बाँडफाड गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण दाहालले जनाए । यस्तै चालु आर्थिक वर्षमा पोषण विशेष कार्यक्रमका लागि ३ लाख, पोषण सुधारका लागि विपन्न महिला, सहकारी वा समूहमा आयआर्जन कार्यक्रमका लागि ६ लाख २५ हजार र पोषण सुधारका लागि विद्यालय खानेपानी कार्यक्रमका लागि ८ लाख रुपैयाँ बजेट रहेको उनले जानकारी दिए ।

यसैविच वशुक्षेत्रीय पोषण योजना सम्बन्धी एक दिने अधिमुखिकरण संगै सोमबार नै कपुरकोट गाउँपालिकामा गत वर्ष सम्पन्न स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपना सुनिश्चितता गोष्ठीको पुनरावलोकन, समिक्षा पनि गरिएको छ । गाउँपालिकालाई स्वच्छ सफा र पोषणयुक्त बनाउनका लागि जनप्रतिनिधी, कर्मचारी र अन्य सरोकारवालाले १७ बुदे प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, वडा नम्बर २ का वडा अध्यक्ष मान बहादुर राना, ३ का वडा अध्यक्ष मिन बहादुर सेन, ५ का वडा अध्यक्ष यम कुमार वस्नेत, ६ का वडा अध्यक्ष हेरम बहादुर बुढाथोकी लगाएतले बोल्दै बालबालिकाको जीवनरक्षा, स्वास्थ्य तथा विकासका लागि पोषण अवस्थालाई सक्षम बनाउनुपर्नेमा जोड दिएका थिए ।

कपुरकोट गाउँपालिकामा खाद्य तथा पोषण कार्यक्रमका लागि सुआहारा कार्यक्रमको पनि सहकार्य रहेको छ । सुआहारा कार्यक्रमका निरज केसी, तोरण बुढाथोकी, निमराज केसी लगायतले अभिमुखिकरण गरेका थिए । कार्यक्रममा जनप्रतिनिधीसंगै विषयगत कार्यालयका प्रमुखहरु, वडा सचिवहरु, स्वास्थ्य संस्थाका प्रमुखहरु लगाएतको पनि सहभागिता थियो । कार्यक्रमको सहजिकरण स्वास्थ्य शाखाका सिनियर अहेव सुवाश हमालले गरेका थिए ।

प्रकाशित मिति: २९ कार्तिक २०७८, सोमबार २१:१२