कभर खबर

  • १३ फाल्गुन २०७८, शुक्रबार ११:२६

कालिमाटी गाउँपालिकामा अज्ञातपक्षद्दारा तोडफोड


सल्यान,फागुन १३
सल्यानको कालिमाटी गाउँपालिकामा तोडफोड भएको छ । गएराति अज्ञात पक्षद्दारा गाउँपालिकाको १२वटा कोठाको ताल्चा फोडेर भित्र पसेको र कार्यालयमा रहेको सिसी क्यामरा समेत फुटाएको गाउँपालिकाका उपाध्यक्ष सनशीलता वलीले जानकारी दिनुभयाे ।


गाउँपालिको कार्यालयको प्रशासकीय भवनको सम्पुर्ण ढोकाका ताल्चा तोडफोड गरी प्रमुख प्रशासकीय कार्यकक्ष, अध्यक्ष, उपाध्यक्षको कार्यकक्षमा समेत तोडफोड लगाएका विभिन्न शाखाहरुमा तोडफोड गरिएको उहाँले बताउनुभयाे ।


कार्यालयमा जडान गरिएको सिसि टिभी फुटाईएको छ भने कम्युटरका डेक्सटप समेत चोरी भएको गाउँपालिकाले जनाएको छ ।
कार्यालयमा ताला तोडफोड गरेको खबर पाए लगतै प्रहरी घटनास्थलमा पुगेर क्षतिको विवरण संकलन गरी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।


कार्यालय भित्र के कति क्षति भयो एकीन हुन वाँकी रहेको प्रहरीले जनाएको छ । यस्तै कालिमाटी गाउँपालिका –३ को वडा कार्यालयमा पनि तोडफोड भएको प्रहरीले जनाएको छ।


गाउँपालिका नजिकै रहेको जाल्पा सामुदायिक लघुबित्त संस्थाबाट तीन लाख बराबरको चोरी भएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ ।
घटनामा संल्गनको खोजी कार्य भइ रहेको घटनाका विषयमा थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी इन्सपेक्टर अर्जुन पौडेलले जानकारी दिएनुभयाे।

प्रकाशित मिति: १३ फाल्गुन २०७८, शुक्रबार ११:२६