कभर खबर

  • १८ फाल्गुन २०७८, बुधबार ०७:४०

सल्यानमा तीन वर्षको अवधिमा तीन आमा र ३८ नवजात शिशुको मृत्यु, १ सय १० मृत जन्म संख्या

मिना बुढाथाेकी सल्यान ।

फागुन १८

बनगाड कुपिण्डे नगरपालिका–८ निवासी ३२ वर्षीया मिना कवरलाई सुत्केरी ब्यथाले च्यापेपछि सोमवार जिल्ला अस्पताल सल्यानमा ल्याइयो । बच्चा जन्माएर सुनौलो भविष्य देखाउने सपना बोकेर सुत्केरी हुन अस्पताल पुगेकी कवरको सपना पुरा हुन पाएन ।

अस्पतालमा सुरक्षित सुत्केरी हुन पुगेकी कवरको जन्मिएको बच्चाकोे २ घण्टापछि ज्यान गएपछि उनको सपना त पुरा हुन पाएन नै मंगलबार उनि रुदै घर फर्कनुप¥यो ।


पेटमा बच्चा उल्टो रहेछ, अस्पताल आउँदा बच्चाको एउटा खुट्टा निस्कि सकेको थियो, उपचारमा सलंग्न एमडीजीपी डाक्टर अभिषेक सिंहले भने, हामी अपे्रशन गर्ने तयारीमा थियौं, तरपछि अर्को खुट्टा पनि निस्किएपछि नर्मल सुत्केरी गरायौं, तर बच्चालाइ बचाउन सकिएन् ।
ती महिलाले गर्भवती भएको समयमा एक पटक पनि स्वास्थ्य जाँच नगराएको पाइएको छ ।

गर्भावस्थामा जाँच गराएको भए बच्चाको अवस्था पहिलेनै थाहा हुने थियो होला,डाक्टर सिंहले भने,उहाँहरु संग जाँच गराएको कुनै कागजात पनि थिएन् ।जन्मिदा पेटमा पानी भरिएर फुलेको र फोक्सो माथि तिर धकेलिएको बच्चालाइ अनेक प्रयास गर्दा बचाउन नसकेपनि आमा भने सुरक्षित रहेको उनले बताए ।


विगत तिन वर्षको अवधिमा बच्चा पेटमै मरेको संख्या हेर्ने हो भने भयावह छ स्वास्थ्य सेवा कार्यालय सल्यानका सुचना अधिकारी थलराज डीसीका अनुसार यसलाइ न्युनिकरण गर्न गर्भवती जाँच कार्यक्रमलाइ प्राथमिकता दिनु पर्छ । तीन वर्षको समयमा तीन आमा र ३८ नवजात शिशुको मृत्यु भएको छ ।

आर्थिक वर्ष ०७६–७७मा १८ वटा, ०७७–७८ मा १५ वटा र चालु आर्थिक वर्ष ०७८–७९को साउन देखी हाल सम्म ५ वटा नवजात शिशुको मृत्यु भएको छ । यस्तै ०७६–७७ मा दार्मा गाउँपालिका र कालिमाटी गाउँपालिकाका दुइ जना मातृ मृत्यु संख्या रहेको सुचना अधिकारी डिसीले बताए । ०७८–७९को माघ महिनामा कालीमाटी गाउँपालिकाकी एक महिलाको मृत्यु भएको उनले बताए ।

यस्तै तिन वर्षको अवधिमा १ सय १० मृत जन्म संख्या रहेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष ०७६–७७मा २७वटा, ०७७–७८मा ५९ वटा र ०७८–७९को साउन देखी हालसम्म २४ वटा मृत जन्म संख्या रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: १८ फाल्गुन २०७८, बुधबार ०७:४०