सल्यानमा एक हजार ७३ जना म्यादी प्रहरी भर्नाका लागि प्रक्रिया शुरु

सल्यान, ५ चैत ।

आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचनको लागि सल्यानमा एक हजार ७३ जना म्यादी प्रहरी भर्ना गरिने भएको छ । जसका लागि जिल्ला प्रहरी कार्यालय सल्यानले म्यादी प्रहरी भर्ना प्रक्रिया अगाडि बढाएको छ । चैत्र ६ गते आइतबार देखि चैत्र ११ गते सम्म म्यादी प्रहरीमा भर्ना हुनका लागि नागरिकहरुले दरखास्त दिन सक्नेछन् । जिल्ला प्रहरी कार्यालयबाट नै दरखास्त फाराम वितरण तथा दर्ता कार्य हुने छ ।

आगामी चैत्र २४ गते सम्म छनौट कार्य सम्पन्न भइसक्ने जिल्ला प्रहरी कार्यालय सल्यानका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारि दिए । छनौट भएका म्यादी प्रहरीलाई १० दिन सम्म समेत प्रदान गरिने उनले बताए । महिला र पुरुष दुबैका लागि मेडिकल चाँज, शारिरिक अभ्यासदेखि लिखित र मौखिक परीक्षा लिइने डिएसपी खड्काले जनाए । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन सक्ने छन् ।

पूर्वनेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकाहरूलाई प्राथमिकतामा राखिने जनाइएको छ । ‘म्यादी प्रहरी भर्ना छनौट मापदण्ड–२०७८÷२०७९’ को खाकामा म्यादी प्रहरी भर्ना गर्दा पूर्व सुरक्षाकर्मीलाई प्राथमिकता दिने व्यवस्था राखिएको छ । म्यादी प्रहरी भर्नाको लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लाका सबै सुरक्षा निकायका प्रमुखहरु सम्मीलित छनौट समिति रहेको डिएसपी खड्काले जानकारि दिए ।

स्थानीय तह निर्वाचनका लागि सल्यानमा हाल भएको प्रहरीको जनशक्ति अझै अपुग हुने देखिएकाले थप जनशक्ति पनि माग गरिएको उनले बताए ।

प्रकाशित मिति: ५ चैत्र २०७८, शनिबार १८:४७