सल्यानका १० वटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना

सल्यान ,बैशाख ८

आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै सल्यानका मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

बिहीबार जिल्ला न्यायाधीश कुल प्रसाद पाण्डे, प्रमुख जिल्ला अधिकारी बिपिन आचार्य लगाएतको उस्थितिमा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन भएको हो ।समग्र जिल्लाको निर्वाचनसम्बन्धी गतिविधि सञ्चालन गर्नेगरी २२ दिनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जिल्ला न्यायाधीश मुख्य निर्वाचन अधिकृत रहने व्यवस्था छ ।

बिहीबार एकैसाथ जिल्लाका १० वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश कुल प्रसाद पाण्डेले जानकारी दिनुभयाे ।

जिल्ला निर्वाचन कार्यालय सल्यानले स्थानीय तहको निर्वाचनका लागि आवश्यक पूर्वतयारी धमाधम गरिरहेको छ । निर्वाचन अधिकृतको कार्यालयबाट हुने निर्वाचन गतिविधि सुरु गर्ने मुख्य निर्वाचन अधिकृत पाण्डेले बताउनुभयाे।

स्थानीय तहको निर्वाचनका लागि जिल्लामा आवश्यक सुरक्षा व्यवस्था तयारी अवस्थामा राखिएको छ । निर्वाचनलाई लक्षित गर्दै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली परिचालन गरिने प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयाे ।

‘मतदान स्थललाई दृष्टिगरी सुरक्षा व्यवस्थालाई भरपर्दो र मजबुत बनाइएको छ । अत्यन्त सुरक्षित र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न तयार रहेको आचार्यले जानकारी दीनुभयाे ।

प्रकाशित मिति: ८ बैशाख २०७९, बिहीबार १८:२२