क्षयरोग निवारणका लागि सबै वडामा स्वयमसेवक

सल्यान, २३ जेठ ।

कपुरकोट गाउँपालिका सल्यानको सबै वडामा क्षयरोग मुक्त अभियानका लागि स्वयमसेववक परिचालन भएका छन् । क्षयरोग मुक्त नेपाल घोषणा अभियान कार्यक्रम अन्तर्गत गाउँपालिकाका ६ वटै वडामा स्वयमसेवक छनौट भएको स्वास्थ्य शाखा कपुरकोटले जनाएको छ ।

क्षयरोग स्वयमसेवकहरुलाई सोमबारदेखी दुई दिने तालिम पनि शुरु भएको छ । समूदायमा रहेको सम्भावित क्षयरोग प्रभावित व्यक्तिहरुको पहिचान, रोकथाम, निदान र उपचार गरी क्षयरोग अन्त्य गर्ने उद्देश्यको साथ कपुरकोट गाउँपालिकामा अभियान सञ्चालन भएको छ ।
अभियान सञ्चालनका लागि पालिका स्तरिय र वडा स्तरिय समिति समेत गठन भएर काम अगाडि बढाइएको स्वास्थ्य शाखाका सिनियर अहेव सुवाश हमालले जानकारी दिए ।

क्षयरोग निवारणका लागि स्वयमसेवकहरुको भुमिका महत्वपूर्ण हुने भन्दै उनीहरुलाई तालिमको आयोजना गरिएको गाउँपालिकाका क्षयरोग कार्यक्रम संयोजक अपेक्षा दाहालले जनाइन् । समुदायमा रहेका सम्भावित क्षयरोगका बिरामीलाई नजिकको स्वास्थ्य संस्थामा प्रेषण गर्ने, गाउँ टोल वस्तीमा सञ्चालन हुने घुम्ति शिविरमा प्रचार प्रसारमा र आवश्यक सहयोग गर्ने काममा स्थानीय स्वयमसेवक परिचालन हुनेछन् । यस्तै तालिम प्राप्त स्वयंसेवकले उपचार केन्द्रबाट टाढा रहेका बिरामीलाई औषधी सेवन गराउने तथा उपचार शुरु गरेको विरामीको खकार परीक्षणका लागि नजिकको स्वास्थ्य संस्थामा प्रेषण गर्ने लगाएतका काम पनि गर्ने दाहालको भनाई छ ।

तालिम उद्घाटन कार्यक्रममा कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले क्षयरोगमुक्त नेपाल घोषणा अभियान कार्यक्रमलाई सफल बनाउन समुदायका सबै क्षेत्र प्रतिबद्ध भएर अगाडी बढ्नुपर्ने बताए । उनले रोग लुकाउने प्रवृति अझै पनि रहेको भन्दै निःशुल्क उपचार हुने क्षयरोगको निवारणका लागि सबै निकायको महत्वपूर्ण भुमिका हुने बताए । यस अभियानलाई प्रभावकारी रुपले सफल पार्न स्वयमसेवकहरुलाई जिम्मेवारपूर्वक लाग्न आग्रह गर्दै प्रमुख प्रशासकीय अधिकृत वलीले स्वयमसेवकहरुको योगदानको गाउँपालिकाले उचित मुल्यांकन गर्ने प्रतिबद्धता जनाए ।

मंगलबार सम्म चल्ने तालिममा स्वयमसेवकहरुलाई स्वास्थ्य सेवा कार्यालय सल्यानका ल्याब टेक्नीसियन भिम रोका, सिअहेव सुवाश हमाल, क्षयरोग कार्यत्रृmम संयोजक अपेक्षा दाहालले अभिमुखिकरण गर्नेछन् । तालिम उद्घाटन कार्यक्रममा कपुरकोट ६ का वडा अध्यक्ष श्यामकृष्ण वोहरा लगाएतको पनि सहभागीता थियो । कार्यक्रमको सहजिकरण शंकर केसीले गरेका थिए ।

प्रकाशित मिति: २३ जेष्ठ २०७९, सोमबार १२:५८