मुख जोड्दा अन्तिम भर, गिट्टी, बालुवा र खोलाको पत्थर


मिना बुढाथोकी
सल्यान,असार १५

शारदा नगरपालिका–१ शान्तिनगर स्थीत शारदा नदिको किनार । दिउँसोको चर्को घाम होस या विहानको चिसो सिरेटो अनि एक्कासी आउने मुसलधारे पानि नै किन नहोस तर खोला किनारमा उहि दृश्य । नदि किनारको वारीपारी हातमा हथौँडा लिएर गिट्टी फुटाइ रहेका दर्जनौँ मजदुरहरु । वर्षौँदेखि देखिएको यो दृश्य न त बदलिन सक्यो न त दृश्यमा देखिएका पात्रहरुको दिनचर्या नै बदलियो ।


खोला किनारको छेउमै अधिकाँश बादी समुदायका विपन्न परिवारको बाक्लो बस्ती छ । खोलाको किनारमा देखिएको उक्त दृश्यका अधिकांश पात्रहरु यहि वस्तीका हुन् । तर आय आर्जन गर्न न जग्गा छ, न त अन्य कुनै पेशा नै । साँझ बिहानको छाक टार्न यस समुदायका अधिकाँश मानिस शारदा नदिको गिट्टीको भर पर्ने गरेका छन् । जनता आवास कार्यक्रम मार्फत बनेको घर बाहेक उनिहरुसँग अरु केहि छैन ।


शारदा नगरपालिका–१ शान्तिनगरकी २८ वर्षीया दीर्घ बादी बिहान सबेरैदेखि राति अबेरसम्म शारदाको किनारमै भेटिन्छिन् । ट्वाक्क ट्वाक्क हतौडाले ढुंगा फुटाएर गिट्टी कुटेपछि मात्रै उनले साँझ बिहानको छाक टार्न सक्छिन् । कुनैदिन भने नदि किनारको गिट्टीबालुवा सङ्कलनमा व्यस्त हुन्छिन् । दिनभरी गिट्टी कुटेपछि मात्रै बेलुका उनले हातमा पैसा थाप्न पाउछिन र त्यसैले उनले खानेकुरा र अन्य दैनकि आवश्यकताका सामान किनेर घरमा लैजान्छिन् ।


स्थानीय तहको निर्वाचन भर्खरै सम्पन्न भएर देशले कोल्टो फेरिसकेपनि उनको दैनिकिले भने कोल्टो फेरेको छैन । निर्वाचनका ताका दिनहुँजसो विभिन्न पार्टीका उम्मेदवार तथा कार्यकर्ता उनले गिट्टी कुट्दै गरेको ठाउँमै पुगेर विभिन्न खालका मिठा आश्वासन पनि दिए । तर चुनाव पछि तिनिहिरु शारदाको पानि जस्तै कहिल्यै फर्किर नआएको उनि बताउछिन् । नेताहरु भोट माग्न आउने बेला ठुला ठुला आस्वासन दिन्छन्, तर खै हाम्रा दुखःका दिन उस्तै छन् । ‘हामी गरिबको समस्या कस्ले पो बुझी दिन्छ र उनले भनिन्,‘गिट्टीबालुवा सङ्कलन नगरे साँझ बिहानको छाक टार्नै गाह्रो हुन्छ ।’ अन्य आयश्रोत केही पनि छैन् ।


सोही ठाउँकी निर्मला परियारको पनि समस्या उस्तै छ । शारदा नदी किनारमा गिट्टीबालुवा सङ्कलन नगरे उनको घरमा पनि चुलो बल्दैन । ०७४ को स्थानीय तह निर्वाचनमा बादी समुदायका १ घर, १ रोजगारीको नारा ल्याएर आएका नेताहरूले त्यसपछि फर्केर नहेरेको उनको गुनासो छ । स्थानिय सरकार दुई पटक बदलिसके तर खै आफुहरुलाइ भने न कसैले रोजगारी दिए न त अरु केहि । कम्तीमा सीपमूलक तालिम दिएको भए पनि आफूहरू आत्मनिर्भर बन्ने उनले बताइन् ।


आफूहरूलाई भने गाँसकै चिन्ता भएको बादी बस्तीकी निर्मला बादीले बताउनुभयो । ‘विगतमा नेताहरूले बारम्बार विपन्नको स्तर उकास्ने भन्ने नारा लगाए, उनले भनिन् ‘तर जितेपछि सबै योजना र बजेट टांढाबाठामा मात्र सीमित गरे । नेताहरूकै बेवास्ताले आफूहरूको आर्थिक अवस्था झनै कमजोर बन्दै गएको उनको भनाइ छ ।


सबै चुनावमा उम्मेदवारले गर्ने बाचा प्रतिबद्धता र बोलीमा मात्रै सीमित भएको स्थानीय मजदुर कमानसिंह विकले गुनासो गरे । स्थानीय तहको पहिलो कार्यकालको बजेट टांठाबाठाले नै रजाँई गरेको उहाँको आरोप छ । ‘दुई पुस्तादेखि पूर्जा विहीन घरमा बस्नुपरेको उनको भनाइ छ ।
मजदुरी गरेको सालाखाला ८ सय रुपियाँ दैनिक ज्यालाले पाँच जनाको परिवार पाल्नुपरेको उनिहरुको गुनासो छ । बढ्दो महङ्गी र भन्नेबित्तिकै काम नपाउने समस्याले कतिपय रात भोकभोकै समेत सुत्नु परेको उनको भनाइ छ ।


शारदा नगरपालिका –१ श्रीनगर निवासी लिला थापा पनि शारदा नदि किनारमा बालुवा चाल्दै गरेको भेटिने एक पात्र हुन् । घरायसी तथा व्यक्तिगत खर्च व्यवस्थापनका लागि शारदा नदीको किनारमा बालुवा चाल्ने गरेको उनि बताउछिन् । रोजगारीका अन्य अवसर नभएपछि जीवन निर्वाह गर्नकै लागि बालुवा चाल्नुपर्ने बाध्यता रहेको उनले बताइन् ।


खोलामा भएका ढुङ्गा, गिट्टी हटाएर बालुवा निकाल्छौँ, पाँच दिनमा एक ट्याक्टर हुन्छ, त्यसलाई २ हजार रुपियाँमा विक्री गर्छौ । ५ सय रुपियाँ कर तिर्नुपर्छ, बाँकी १ हजार ५ सय रुपियाँ सय हातमा पर्छ । थापाले भनिन् ‘त्यसैले दैनिक जिवन तथा छोराछोरीको पढाइ खर्च जुटाउने गरेकी छु ।


यस्तै कपुरकोट गाउँपालिका–५ रिम घर भएर श्रीनगरमा बस्दै आएकी बबिता बोहराले २ वर्षदेखि शारदा नदीको छेउमा बालुवा चाल्दै आएकी छन् । सानो बच्चासँग श्रीनगर बजारमा मजदुरी गर्न समस्या भएपछि आफूले बालुवा चाल्न लागेको उनले बताइन् ।
‘रोजगारीको कुनै उपाय नभएपछि बाध्य भएर बिहान ७ बजे खोलामा आउँछु, दिनभर बालुवा जम्मा गरेर बेलुका ५ बजे मात्रै कोठामा जान्छु,उनले भनिन् ।


आर्थिक रूपमा बिपन्न हुदाँ रोजगारी पनि नपाइने र दैनिक निर्वाहको लागि अन्य बिकल्प नभएपछि साँझ बिहानकै छाक टार्न गिट्टी कुट्ने र बालुवा चाल्नुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ ।केन्द्र, प्रदेश र स्थानीय तहले सञ्चालन गरेका रोजगारमुलक कार्यक्रमहरू लक्षित वर्गसम्म नपुग्दा समस्या भएको शारदा नगरपालिका–१ शान्तीनगरकी विमला बादीको दुखेसो छ ।


सरकारी तवरबाट स्थानीय स्तरम रोजगारी सिर्जना गर्नको लागि वार्षिक रूपमा करोडौँ रुपियाँ खर्च भएपनि टाठाबाठाको हातमा मात्रै पर्दा विपन्न परिवारलाई जीवन निर्वाहको लागि घाम पानि नभनेर गिट्टी कुट्ने र बालुवा चाल्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
आर्थिक रूपमा विपन्न हुँदा रोजगारी पनि नपाइने र जीवन निर्वाहको लागि अरू कुनै पनि विकल्प नभएपछि साँझ बिहानको छाक टार्न पनि गिट्टी कुट्ने र बालुवा चाल्नुपर्ने बाध्यता रहेको उनीहरू बताउँछन् ।

विपन्नहरूकाे समस्या बारे मानवअधिकारकाे क्षेत्रमा काम गर्दै आइ रहेकाे इन्सेकले पटक पटक आवाज उटाउदै आएकाे छ । विभिन्न् समयमा विपन्न् परिवारकाे समस्या र आवश्यकता बारे इन्सेकले आफ्नाे अनलाइनमा समेत उिनहरूकाे समस्या बारे सामाग्री प्रकाशन गर्दै आएकाे छ ।


यसरी शारदा नदी र आसपासका खोलाहरूमा गिट्टी कुट्ने र बालुवा चालेर दैनिकी चलाउने परिवारको संख्या कति छ भन्ने विषयमा समेत एकिन तथ्याङ्क सार्वजनिक जानकारीमा छैन ।विपन्न परिवारलाई रोजगारीमा जोड्न प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रम कार्यान्वन गरिएको शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले बताए ।


चालु आर्थिक वर्षमा नगरपालिका भित्रका झण्डै ५ सय जनालाई रोजगारी दिने गरी कार्यक्रम सञ्चालन गर्न लागिएको उनले बताए । हामीहरु विपन्न र गरीवलाइ कसरी रोजगारका अवसरहरु दिलाउन सकिन्छ भनेर दिनरात लागीपरेका छौँ नगरप्रमुख भण्डारीले भने यसका लागी सवै पक्षले होस्टेमा हैँसे गर्नु जरुरी छ । उहाँहरुको सिप विकासका लागी पनि हामीले केहि काम गरिरहेका छौँ उनले भने मैले उहाँहरुलाई कसरी आर्थिक रुपमा माथि उठाउन सकिन्छ भनेर सोचिरहेको छु ।

प्रकाशित मिति: १६ असार २०७९, बिहीबार १२:२८