निवर्तमान नगरप्रमुख बुढाथोकीले पत्रकार महासंघलाई उपलब्ध गराए पौने तीन लाख

सल्यान, २४ असार ।

पत्रकार राहत तथा अक्षयकोषका लागि भन्दै बागचौर नगरपालिका सल्यानका निवर्तमान नगरप्रमुख लोकमान बुढाथोकीले नेपाल पत्रकार महासंघ सल्यान शाखालाई २ लाख ८० हजार ८ सय ४५ रुपैयाँ उपलब्ध गराएका छन् । आफ्नो ५ बर्षे कार्यकालको अबधिमा प्राप्त तलब भत्ताबाट महासंघलाई उक्त रकमको चेक शुक्रबार हस्तान्तरण गरेका हुन । बागचौर नगरपालिका कार्यालयमा आयोजित एक कार्यक्रमका बिच बुढाथोकीले महासंघका अध्यक्ष नवीन पौडेललाई उक्त चेक हस्तान्तरण गरेका हुन ।

चेक हस्तान्तरणपछि द्विपक्षीय सम्झौता पत्रमा संयुक्त हस्ताक्षर गरिएको छ । महासंघको कार्यबिधी अनुसार उक्त रकम प्रयोग गरिने सम्झौता पत्रमा उल्लेख छ । उक्त रकम पत्रकार राहत तथा अक्षय कोषमा राखिने महासंघले जनाएको छ । प्रत्येक बर्ष उत्कृष्ट एक जना पत्रकारलाई उक्त रकमको ब्याजबाट पुरस्कृत गरिने नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष पौडेलले बताए । बुढाथोकीको सहयोगले सल्यानको पत्रकारितामा थप मद्धत पुगेको भन्दै अध्यक्ष पौडेलले बुढाथोकीलाई धन्यवाद दिएका छन ।

रकम हस्तान्तरण पछि बोल्दै निवर्तमान नगरप्रमुख बुढाथोकीले पत्रकार समाजको ऐना भएको भन्दै सबैले सहयोग गर्नुपर्ने बताए । आफ्नो कार्यकाल अबधिमा प्राप्त तलब भत्ता बापत केही रकम पत्रकारको सुरुक्षा र सम्मानमा सेवा गर्न पाउँदा खुशी लागेको उनको भनाई थियो । सल्यानको पत्रकारिता क्षेत्रलाई अझै क्रियाशिल बनाउन उनले सुझाब दिएका थिए । बुढाथोकीले आफुले पाएको सम्पुर्ण तलब भत्ता सामाजिक कार्यमा लगाएका छ्न । बिद्यालय, अस्पताल, विभिन्न संघ संस्था लगाएतमा महत्वपूर्ण स्थानमा उनले सम्पुर्ण रकम सहयोग गरेका छन ।

प्रकाशित मिति: २४ असार २०७९, शुक्रबार १८:१२