मिटर जडान गरेको दुई वर्ष पछि विजुली बत्ति बल्यो, अझै धेरै वस्तीमा विद्युत विस्तार हुन सकेन

विमल केसी
रोल्पा, ३० साउन ।

रोल्पाको कुकुरगारेका स्थानीयहरुले घरमा विद्युत मिटर जडान गरेको दुई वर्ष पछि विजुली बत्ति बाल्न पाएका छन् । विद्युत विस्तारको जिम्मा पाएको ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण गंगादेव गाउँपालिका वडा नं ३ स्थित कुकुरगारेका स्थानीयहरुले चाँडै विजुली वत्तिको सुविधा उपभोग गर्न पाइरहेका थिएनन् । तर विद्युत कार्यालय तथा सरोकरवालाहरुको पहलका कारण गाउँका प्राय सबै घरधुरीमा विद्युत प्रवाह भएको स्थानीयहरुले बताएका छन् । कुकुरगारेका केही घरमा मात्रै एक वर्ष अघि विद्युत सेवा पुगेको थियो । यसपटक गाउँका करिव ४० घरधुरीमा विद्युत सेवा पुगेको नेपाल विद्युत प्राधिकरण रोल्पा वितरण केन्द्रका कर्मचारी भुवन केसीले जनाए । घरघरमा विद्युत सेवा पुगेपछि स्थानीयहरु हर्षित भएका छन् ।

गंगादेव गाउँपालिका वडा नम्बर ३ का सबै गाउँ वस्तीमा अझै पनि विद्युत विस्तार हुन सकेको छैन । प्राय गाउँमा विद्युत पोल गाडिएको र तार तानिएको भएपनि विद्युत प्रवाह हुन नसकेको स्थानीयहरुले बताएका छन् । करिव दुई वर्ष अघि नै विद्युत मिटर जडान गरिएको भएता पनि विद्युत प्रवाह हुन नसक्दा विद्युत सेवाबाट वञ्चीत हुनुपरेको स्थानीयहरुको गुनासो छ ।

झारमङग्राह, मग्राह, रातामाटा, जहेले, गोठिखोला लगायतका गाउहरुमा अहिलेसम्म पनि विद्युत सञ्चालन नभएको बताइएको छ । रोल्पा वितरण केन्द्रले विद्युत सेवा नपुगेका सबै गाउँवस्तीमा छिटै विद्युत विस्तार हुने जनाएको छ ।

प्रकाशित मिति: ३० श्रावण २०७९, सोमबार १०:४२