घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते भएका एक व्यक्तिको मृत्यु

सल्यान, ३० साउन ।

घाँस काट्ने क्रममा चिप्लिएर रुखबाट खस्दा सल्यानमा एक जनाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका १ काभ्राका ५२ वर्षीय ओमबहादुर बुढाथोकीको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । शनिबार दिउँसो रुखबाट लडेर बेहोस भएका बुढाथोकीलाई राप्ती उपक्षेत्रीय अस्पताल दाङमा सामान्य उपचार पश्चात थप उपचारका लागि मिसन अस्पताल कोहलपुर लगिएकोमा सोही राती उनको मृत्यु भएको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी िदिए ।

चार÷पाँच जना छिमेकीसँग उनी शनिबार दिउसो घरदेखि करिब दुई किलोमिटर टाढा पर्ने असुरे धारापानी भन्ने स्थानमा घाँस काट्न गएका थिए । सो क्रममा बुढाथोकी दबदबेको रुखबाट लडेर बेहोस भएका थिए । उनीसँगै गएका छिमेकी टेकबहादुर बोहराले आफन्तलाई खबर गरेको र आफन्तले प्रहरीलाई जानकारी गराएपछि उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसिपुर दाङ लगिएको थियो । मृत्यु भएका बुढाथोकीको शव जिल्ला अस्पताल सल्यान ल्याई पोस्टमार्टम गरिएको र मृतकको परिवारलाई दाहसंस्कारका लागि हस्तान्तरण गरिएको प्रहरी निरीक्षक खनालले जानकारी दिए ।

प्रकाशित मिति: ३० श्रावण २०७९, सोमबार १५:५८