कभर खबर

  • ३१ श्रावण २०७९, मंगलवार १३:५१

सल्यानको दार्मामा भाई बुहारीमाथी एसिड प्रहार, तीन जना गम्भीर घाइते

सल्यान, ३१ साउन ।

सल्यानमा एक व्यक्तिले आफ्नै भाई बुहारी र छिमेकीलाई एसिड प्रहार गरेका छन् । दार्मा गाउँपालिका वडा नम्बर ३ चम्पुटाकुराका एसिड प्रहार गरेर ५० वर्षीय बेचे रावतले भाई वुहारी सहित तीन जनालाई घाइते बनाएका हुन् । मादक पदार्थ सेवन गरेका उनले सोमबार साँझ साढे ७ बजेतिर लेनदेनको विषयलाई लिएर सहोदर भाई ४९ वर्षीय भिम बहादुर रावत, भाइबुहारी ४० वर्षीया दिपा रावतलाई एसिड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । एसिड प्रहारबाट नजिकै रहेका छिमेकी ३२ वर्षीय भिम बहादुर रावत पनि घाईते भएका छन् ।

घाइते तिनै जनाको नेपालगंज नर्सिङ होममा उपचारपछि थप उपचारको लागि काठमाडौंको किर्तिपुर सामुदायिक अस्पताल लगिएको छ । अहिले घाइते तीनै जनाको अवस्था खतरामुक्त रहेको प्रहरीको भनाई छ । खोटो संकलन गर्ने एभरेष्ट लिसा कम्पनीले घरमा राख्न दिएको एसिडलाइ ल्याएर छ्यापेको प्रहरीले जनाएको छ । स्थानीय जनप्रतिनिधी, सुरक्षाकर्मी, स्थानीय युवाहरुले एउसिड प्रहार गर्ने बेचे रावतलाई नियन्त्रणमा लिएका थिए । उनलाई कुटपिट तथा अंगभंग (तेजाब प्रहार) मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

एसिड वा अन्य रासायनीक, जैविक वा विवषालु पदार्थ प्रयोग गरी कसैलाई अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र १ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ । मुलुकी अपराध संहिता को दफा १९३ (२) मा कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी कारबाही गरिने उल्लेख छ । यस्तै शरिरका अन्य अंगमा एसिड प्रहार गरेर क्षति पुर्याएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म जरिमाना हुने व्यवस्था छ । घटनाको प्रकृति हेरेर दुवै सजाय हुने व्यवस्था समेत छ ।

प्रकाशित मिति: ३१ श्रावण २०७९, मंगलवार १३:५१