नीति विश्लेषण संगै कपुरकोटमा सामाजिक जवाफदेहीताका औजार बारे अभिमुखिकरण

सल्यान, ६ भदौ ।

कपुरकोट गाउँपालिकामा कृषि, शिक्षा, स्वास्थ्य र खानेपानी तथा सरसफाइ लगायतका क्षेत्रको नीति, कार्यक्रम विश्लेषण सम्बन्धी छलफल गरिएको छ । सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तर्गत सोमबार छलफल कार्यक्रम सम्पन्न भएको हो । सोमबार नै सामाजिक जवाफदेहिताका औजारहरुको बारेमा पनि अभिमुखिकरण सम्पन्न भएको छ ।

शिक्षा, स्वास्थ्य, कृषि तथा पशु, खानेपानी सम्बन्धि नीति, कार्यक्रमबारे नागरिकलाई जानकारी गराउने तथा नागरिकहरूलाई अधिकारको बारे चनाखो बनाउने उद्देश्य सहित छलफल कार्यक्रमको आयोजना गरिएको हो । सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रममा विषयगत शाखा कार्यालयका प्रमुखहरुले प्रस्तुती राखेको सामुदायीक सहजकर्ता विष्णु प्रसाद गौतमले जानकारी दिए । कार्यक्रममा नागरिकहरुले स्थानीय सरकारबाट प्रवाह हुने सेवा तथा प्रदान गरिने सुविधा लगाएतका विषयमा सबैलाई जानकारी हुने गरी सूचना सम्प्रेशन गर्नुपर्नेमा जोड दिएका थिए ।

गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वली, वडा अध्यक्षहरु, विषयगत शाखाका प्रमुखहरु, सुशासनमा नागरिक सहभागीता कर्यक्रम अन्तर्गत वडा स्तरीय मुल समिती, पालिका स्तरिय कार्य सञ्जाल, सुशासनका लागि युवा मञ्चका सदस्यहरुको सहभागिता थियो ।

यस्तै सोमबार नै स्थानीय तहका कर्मचारीहरुलाई सामाजिक जवाफदेहीताका औजारहरुको बारे पनि अभिमुखिकरण गरिएको छ । नागरिकलाई प्रदान गर्ने सेवा सुविधा सरल र प्रभावकारी बनाउन प्रयोग हुने सामाजिक जवाफदेहिताका औजारहरुको बारेमा अभिमुखिकरण गरिएको थियो । कार्यक्रममा शासन प्रणालीलाई पारदर्शी, जवाफदेही र नागरिकमुखी बनाउन सुशासनका औजारहरूको प्रयोग अनिवार्य रहेकोमा जोड दिइएको थियो ।

गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले सुशासन, जबाफदेही तथा पारदर्शी सवलीकरण मार्फत नागरिक तथा स्थानीय सरकारबिच सहभागितामूलक सम्बन्ध स्थापना गर्नुपर्ने र यसमा सबैको हातेमालो आवशयक रहेको बताए । सामाजिक जवाफदेहिताको अवधारणा, सामाजिक जवाफदेहिताका प्रकार, सार्वजनिक जवाफदेहिताका साधनहरु प्रयोग गर्ने तरिका र सार्वजनिक जवाफदेहिताको सफलताका लागी आवश्यक पक्षहरुका बारेमा अभिमुखिकरण गरिएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वली, स्वास्थ्य संयोजक अरुण दाहाल, नागरिकको तर्फबाट चन्द्रमणी खड्काले मन्तव्य प्रस्तुत गरेका थिए भने सुशासनमा नागरिक सहभागिता कार्यक्रमका हिमा बुढाथोकी रामजाले अभिमुखिकरण गरेकि थिइन् । कार्यक्रमको सहजिकरण विष्णु प्रसाद गौतमले गरेका थिए ।

युरोपियन युनीयनको आर्थिक सहयोग तथा सहकर्मी समाज सुर्खेत, दलित विकास समाज सल्यान, दलित महिला केन्द्र काठमाण्डौँ, आइएम स्वीडिस् डेभ्लपमेन्ट पार्टनर र तेर दे जोमको सहकार्यमा कपुरकोट गाउँपालिकामा सुशासनमा नागरिक सहभागिता कार्यक्रम सञ्चालनमा छ ।

प्रकाशित मिति: ६ भाद्र २०७९, सोमबार १८:११