अपांगता भएकाहरुको गुनासो : सुविधा त परको कुरा हामीलाई देखेपछि गाडिले समेत रोक्दैन

सल्यान, ८ भदौ ।

शारिरिक अपांगता भएका व्यक्तिहरुले आफुहरुले राज्यले दिएको सहुलियत तथा अन्य सुविधा नपाएको गुनासो गरेका छन् । सल्यानको कपुरकोट गाउँपालिकामा बुधबार भएको अपांग उत्थान केन्द्रको साधारणसभामा सहभागी उनीहरुले यातायातमा सहुलियत नभएको तथा विभेदपूर्ण व्यवहार भोग्नुपरेको गुनासो गरेका हुन् । कपुरकोट ६ निवासी अपांगता भएको दल बहादुर खड्काले भने, ‘गाडि भाडामा छुट हुने कुरा सुन्छौँ, तर छुट त परको कुरा हामीलाई देखेपछि गाडिले रोक्दैन ।’ अपांगता भएका व्यक्तिहरुको अधिकार प्राप्ती र सहुलियतका लागि पहल गरिदिन उनले जनप्रतिनिधी तथा स्थानीय तहका कर्मचारीहरुसंग अनुरोध गरे ।

अर्का अपांगता भएका व्यक्ति कपुरकोट ५ निवासी यज्ञ बहादुर विकले अपांगता भएका व्यक्तिलाई गाउँपालिकाबाट उपलब्ध हुन सक्ने सेवा, सुविधा तथा अवसर उपलब्ध गराउन र विना भेदभाव अन्य व्यक्ति सरह सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण बनाइदिन आग्रह गरे ।

कार्यक्रममा कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुुमार वलीले गाउँपालिका अन्तर्गतका हरेक कार्यालय अपांगमैत्री बनाउने विश्वास दिलाए । उनले यस वर्ष अपांगता भएका व्यक्ति लक्षित कार्यक्रम सञ्चालन गर्नका लागि ४ लाख बजेट विनियोजन पनि भएको बताए । उनले भने, ‘अपांगता भएका नागरिकहरुको मर्यादित र आत्मनिर्भर जीवनयापनका लागि अपांमैत्री वातावरण सिर्जना गर्ने हाम्रो नीति नै रहेको छ । अपांगता सहायक सामग्रीहरु निःशुल्क रुपमा वितरण गर्नका लागि विभिन्न निकायहरुसंग सहकार्य अगाडी बढाइसकेका छौँ ।’

यस्तै वडा नं ३ का वडा अध्यक्ष प्रदिप खड्काले अपांगता भएका व्यक्तिहरुको सेवा सुविधा तथा सहुलियतका लागि सकदो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै कसैले विभेद, अवहेलना गरेमा र तोकिएको सुविधा नपाएमा सम्बन्धीत निकायमा उजुरी दिनुपर्ने बताए ।

अपांग उत्थान केन्द्र कपुरकोटको तेश्रो साधारणसभाबाट नयाँ कार्यसमिति समेत चयन भएको छ । योगराज डाँगी अध्यक्ष रहेको ९ सदस्यीय समिति चयन भएको उत्थान केन्द्रले जाननकारी दिएको छ । जसको उपाध्यक्षमा दल बहादुर खड्का, सचिवमा गंगाराम विक, सहसचिवमा टिकाराम विक, कोषाध्यक्षमा भिममाया पुन र अन्य सदस्यहरु रहेका छन् । यस्तै गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारी संयोजक रहेको ३ सदस्यीय सल्लाहकार समिति पनि ठगन भएको छ । समितिको सदस्यहरुमा यज्ञ बहादुर विक र टंक बहादुर वोहरा रहेका छन् ।

साधारणसभा उद्घाटन कार्यक्रममा कपुरकोट गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण दाहाल, योजना शाखा प्रमुख खगेन्द्र बहादुर शाही, पत्रकार महासंघ सल्यानका उपाध्यक्ष शंकर केसी, महिला तथा वालवालिका शाखा प्रमुख हिरा कुमारी वली लगाएतको सहभागिता थियो ।

प्रकाशित मिति: ८ भाद्र २०७९, बुधबार १७:०७