स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड

सल्यान, ९ भदौ ।

स्वास्थ्य सेवाको गुणस्तर सुधारका विषयमा सल्यानको कपुरकोट गाउँपालिकामा विहिबार छलफल भएको छ । गाउँपालिकाको सामाजिक विकास समिति सहित जनप्रतिनिधी र सरोकारवालाहरुको विच छलफल भएको हो । समितिका अध्यक्ष होम बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्यका लागि सक्षम प्रणालीका सिनियर प्राविधिक अधिकृत हरिलाल ढकालले अभिमुखिकरण गरेका थिए । स्वास्थ्य एक महत्वपूर्ण विकासको विषयवस्तु भएको भन्दै स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्ने विषयमा छलफल भएको स्वास्थ्य संयोजक अरुण दाहालले बताए ।

छलफल कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले गुणस्तरिय स्वास्थ्य सेवा सुनिश्चित गर्नका लागि सबै क्षेत्र र समुदायसंग साझेदारी विकास गरेर अघि बढिने बताए । स्वास्थ्य सेवाको पहुँचमा चुनौतीको रुपमा देखा परेका भौगोलिक, सामाजिक र आर्थिक अवरोधलाई हटाउदै जनप्रतिनिधी र कर्मचारी योजनाबद्ध तरिकाले अघि बढ्नुपर्ने उनको भनाई थियो । स्वास्थ्यका लागि सक्षम प्रणालीका अधिकृत ढकालले स्वास्थ्यमा गरिने लगानीले तत्काल प्रतिफल नदिने तर यसले दिर्घकालिन प्रतिफल दिइरहने बताए ।

कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, सम्बन्धीत शाखाका कर्मचारीहरु लगाएतको सहभागिता थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका सिनियर अहेव सुवाश हमालले गरेका थिए ।

प्रकाशित मिति: ९ भाद्र २०७९, बिहीबार १७:५१