प्रविधिको प्रयोग मार्फत सुशासन अभिवृद्धि गर्न मोवाईल एप्स


सल्यान, १० भदौ ।


स्थानीय सरकारमा नागरिकको पहुँच बढाई सुशासन अभिवृद्धि गर्नका लागि सल्यानका तीन स्थानीय तहमा मोवाईल एप्स निर्माण गरिएको छ । प्रविधिको प्रयोग मार्फत सुशासन अभिवृद्धि गर्ने उद्देश्यले मोवाईल एप्स र वेवसाईटको निर्माण गरिएको हो । जिल्लाको कपुरकोट, त्रिवेणी र सिद्ध कुमाख गाउँपालिकामा नागरिक सहभागिताको लागि छुट्टै एप्स निर्माण गरिएको छ ।


वेवसाईट र एप्सको बारेमा त्रिवेणी तथा सिद्ध कुमाखमा विहिबार र कपुरकोटमा शुक्रबार जानकारी समेत गराइएको छ । सुशासनका लागि नागरिक सहभागिता कार्यक्रमले स्थानीय तहहरुमा आइसिटि सम्बन्धी सहयोग गरेको कार्यक्रमका सल्यान जिल्ला संयोजक गुमान सिंह नेपालीले जानकारी दिए । कार्यक्रम मार्फत कर्णालीका ६ स्थानीय तहमा यस प्रकारको सहयोग उपलब्ध गराइएको छ ।


कपुरकोटमा शुक्रबार भएको कार्यक्रममा सहयोगी संस्था तेर दे जोमका कमल लामाले एप्सको उपयोगीताको बारेमा जानकारी गराउँदै स्थानीय सरकारको गुनासो व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउन एप्सले महत्वपूर्ण भुमिका खेल्ने बताए ।


एप्समा नागरिक वडापत्र समेत राखिएको छ भने प्रयोगकर्ताले आफ्नो गुनासो वा सुझावलाई लेखेर वा आफ्नै आवाजमा रेकर्ड गरेर समेत गाउँपालिकामा पठाउन सक्ने सुविधा राखिएको छ । ‘नागरिक सहभागिता–कपुुरकोट एप्स’ प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ ।


सेवाग्राही नागरिकलाई जानकारीमा पहुँच पुर्याएर उनीहरुवीच सामुहिक परामर्श एवम् छलफल गरी सम्बन्धीत निकायमा गुनासो पेश गर्नका लागि एप्सको उपयोगीता रहेको छ । गुनासो प्राप्त भएप्सछि त्यसको व्यवस्थापन तथा समयमै गुनासो सम्बोधन गरिने कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले बताए । यसले गर्दा गाउँपालिकाका विभिन्न क्षेत्रको सुधार हुने उनको अपेक्षा छ ।


‘गुनासो व्यवस्थापन सुशासनको अभिन्न अंग हो’, अध्यक्ष पुनले भने, ‘पालिकाका हरेक काममा चित्त नबुझेमा वा प्रदान गरिने सेवा सुविधाबाट वञ्चीत भएमा, भेदभाव महसुस भएमा घरमै बसेर एप्स मार्फत गुनासो पठाउन सकिने भयो । हामी प्रविधिको प्रयोग मार्फत छिटो, छरितो, प्रभावकारी र गुणस्तरिय सेवा दिनका लागि प्रयासरत छौँ ।’


एप्ससमा गाउँपालिकाको नीति, कार्यक्रम, योजना तथा बजेट र कार्यालयले सम्पादन गर्ने कार्यको विषयमा जानकारी गराउने र प्राप्त सुझाव एवम् गुनासोलाई व्यवस्थापन गरिने बताइएको छ । गाउँपालिकाको काममा पारदर्शिताको लागि मोबाइल एप्सस एउटा राम्रो प्रयोग हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुण दाहालले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: १० भाद्र २०७९, शुक्रबार १५:३१