नागरिक समूहलाई सक्रिय बनाउन चनचेतना

सल्यान, १९ भदौ ।

सल्यानका नागरिकहरुलाई आफ्ना समस्या तथा गुनासो राखेर सेवा प्रदायक निकायलाई जवाफदेही बनाउनका लागि चेतना अभिवृद्धि गरिएको छ । जवाफदेहिता कार्यान्वयनमा सहजिकरण परियोजना अन्तर्गत त्रिवेणी र कपुरकोट गाउँपालिकाका नागरिकहरुमा जनचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको हो । आइतबार कपुरकोट गाउँपालिकामा गुनासो सुनुवाई संयन्त्रमा नागरिक समूहको सक्रिय सहभागीताको लागि जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको आयोजक संस्था सहकर्मी समाज सुर्खेतले जनाएको छ । खास गरी कर्णाली प्रदेशभरका विभिन्न समस्या तथा गुनासोहरु पेश गर्नका लागि निर्माण गरिएको मोवाइल एप्सका बारेमा जानकारी गराइएको थियो । विभिन्न क्षेत्रका समस्याहरु र गुनासोहरु राख्नका लागि प्ले स्टोरबाट ‘हाम्मा कुडा’ मोवाइल एप्स डाउनलोड गरेर प्रयोग गर्न सकिने सहकर्मी समाजका नवराज जैशीले जानकारी दिए । कार्यक्रममा सहभागी सामुदायीकि समूहका सदस्यहरुले आआफ्ना गाउँ वस्तीका समस्याहरु तथा गुनासोहरु पनि राखेका थिए ।

जनचेतना अभिवृद्धि कार्यक्रमका प्रमुख अतिथी कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले स्थानीय तह लगाएत हरेक सार्वजनिक निकायबाट प्रदान हुने सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी र जवाफदेही बनाउन नागरिकको भुमिका महत्वपूर्ण हुने बताए । उनले जनप्रतिनिधी तथा कर्मचारीलाई थप जिम्मेवार बनाई सार्वजनिक जवाफदेहीता अभिवृद्धी गर्ने कार्यलाई सफल बनाउन नागरिकहरु सचेत हुनुपर्नेमा जोड दिए । अध्यक्ष पुनले गाउँपालिकामा विद्युतीकरण, सडक स्तरोन्नती, कपुरकोट बजार क्षेत्रमा सार्वजनिक सौचालयको व्यवस्थापन लगाएतका क्षेत्रमा विभिन्न निकायसंगको सहकार्यमा काम अगाडी बढिरहेको बताए ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथी कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले नागरिकस्तरबाट समस्या र गुनासो उठान संगै निरन्तर रुपमा खबरदारी भइरहनुपर्ने बताए । उनले बेला बेलामा गाउँपालिकामा गएर पनि आफ्ना सुझाव, समस्या तथा गुनासो राख्न आग्रह गरे । उपाध्यक्ष भण्डारीले किसानहरुले भोग्नुपरेको रासायनीक मलको समस्या, जीर्ण राप्ती लोकमार्गको सुधार लगाएत गाउँपालिका स्तरबाट सम्बोधन हुन नसक्ने नागरिकका विभिन्न समस्याका विषयमा प्रदेश तथा संघीय सरकारसंग समेत समन्वय र पहल गरिरहेको जानकारी गराए ।

कर्णाली प्रदेश सरकार तथा कपुरकोट गाउँपालिकाको गुनासो सुनुवाई संयन्त्रमा नागरिक समूहको सक्रिय सहभागीताको लागि छलफल गरिएको सुशासनमा नागरिक सहभागिता कार्यक्रम कपुरकोटका सामुदायीक सहजकर्ता विष्णु प्रसाद गौतमले जानकारी दिए ।

प्रकाशित मिति: १९ भाद्र २०७९, आईतवार १८:१४