
शंकर केसी,
सल्यान, २१ असोज ।
सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ५ स्थित सल्लाम गाउँमा पहिरोको कारण विस्थापित १४ घर परिवारलाई विद्यालयमा स्थनान्तरण गरिएको छ । अविरल वर्षापछि आएको पहिरोले सल्लाम गाउँका ३ घर र ३ गोठ पुरिएका छन् भने दर्जन बढी घर उच्च जोखिममा रहेका छन् । पहिरोले घरबास बगाएका पिडित परिवार र उच्च जोखिमका कारण विस्थापित परिवारलाई कपुरकोट ५ खालि स्थित सिद्ध आधारभुत विद्यालयमा स्थानान्तरण गरिएको ५ नं वडा अध्यक्ष होमराज खड्काले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय सल्यानले दिएको जानकारी अनुसार सल्लाम स्थित केशरसिंह रानाको एउटा घर र एउटा गोठ पहिरोमा पुरिएको छ । गोठमा भएका ४ वटा बाख्रा मरेका छन् । यस्तै विजयसिंह बुढाको एउटा घर र एउटा गोठ पुरिएका छन् भने एउटा भैसी, दुईजीउ भैसी र ५ जीउ खसीबाख्रा मरेका छन् । प्रहरीका अनुसार विर बहादुर रानाको पनि घर पहिरोमा बगेको छ । वडा अध्यक्ष खड्काले गोपी बुढाको पनि गोठ पहिरोमा पुरिएको जानकारी दिए ।
घरगोठ पुरिएका पिडित परिवार सहित पहिरोको उच्च जोखिममा रहेका अन्य १० घर परिवारलाई नजिकैको विद्यालयमा राखिएको कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले बताए । उनले भने, ‘प्रहरी चौकी कपुरकोट र अस्थायी प्रहरी पोष्ट रीमबाट खटिएको प्रहरी टोलि, जनप्रतिनिधी, स्थानीयहरुले उहाँहरुलाई विद्यालयमा पठाएका छौँ । जोखिमयुक्त घरका मालसामान र वस्तुभाउ पनि निकालिएको छ ।’ पहिरोको उच्च जोखिममा रहेका सल्लाम गाउँकै दुर्गा बलाल, चूर्ण बलाल, भक्त बहादुर राना, कविराम राना, डण्ड बहादुर घर्ती, चन्द्रकली विक, विजय घर्ती, नर बहादुर बाँठा, मनिसा बाँठा र हस्तमणी बाँठाको परिवारलाई विद्यालयमा स्थानान्तरण गरिएको उनले जनाए ।
पहिरो पिडित परिवारलाई गाउँपालिकाको समन्वयमा स्थानीय मिलनबजार व्यवस्थापन समितिले खाना तथा विद्यालयमा बसाईको व्यवस्थापन गरिरहेको छ । पिडितहरुको राहतका लागि तत्काल आवश्यक निर्णय गरिने गाउँपालिकाले जनाएको छ । घटनास्थल पुगेका कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले पहिरोका कारण भएको क्षतिको पुरा विवरण संकलन भइरहेको र पिडितहरुलाई नियमानुसारको राहत प्रदान गरिने बताए ।
गत मंगलबार देखि निरन्तर रुपमा परेको झरीका कारण शुक्तबार विहान ७ बजेतीर उक्त स्थानमा पहिरो गएको थियो । कपुरकोट रोल्पा सडक नै बगाएर सडक भन्दा तलको वस्तीमा पहिरो गएको हो । पहिरो विहानपख आएको र रुख बढेको तथा डर लाग्दो आवाज सुनेपछि घरभित्र रहेका मानिसहरु भाग्न सफल भएका थिए ।

प्रकाशित मिति: २१ आश्विन २०७९, शुक्रबार १३:१७