गाउँपालिकाले आँखा जाँच गरेर दुई हजार नागरिकलाई निःशुल्क चश्मा वितरण गर्ने

सल्यान, १ कार्तिक ।

सल्यानको कपुरकोट गाउँपालिकाले दुई हजार नागरिकलाई निःशुल्क चश्मा वितरण गर्ने भएको छ । आगामी शनिबार गाउँपालिकामा आँखा परिक्षण गर्दा चश्मा आवश्यक पर्ने पालिकाभित्रका नागरिकहरुलाई चश्मा वितरण गर्ने भएको हो । यस अघि आँखा स्वास्थ्य शिविर पनि सञ्चालन गरिसकेको गाउँपालिकाले हेल्पीङ ह्याण्ड नेपाल र आँखा उपचार केन्द्र श्रीनगर सल्यानको सहयोगमा निःशुल्क चश्मा वितरण गर्न लागेको हो ।

चिकित्सकहरुबाट आँखाको जाँच गरेर चश्मा आवश्यक पर्ने नागरिकलाई चश्मा वितरण गरिने गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले जानकारि दिए । उनले भने, ‘पहिलो चरणमा हामीकहाँ हेल्पीङ ह्याण्ड नेपालको सहयोगमा दुई हजार थान चश्मा आएको छ, त्यो वितरण गर्छाैँ । चश्मा प्रयोग गर्नुपर्ने अरु व्यक्तिहरु पनि हुनुभयो भने थप चश्मा पनि निःशुल्क वितरण गर्ने कार्यक्रम छ ।’

आँखा मानिसको सबैभन्दा महत्वपूर्ण र संवेदनशिल अंग भएकाले गाउँपालिकावासीको आँखाको सुरक्षाको लागि चश्मा वितरण कार्यक्रम राखिएको गाउँपालिकाले जनाएको छ । ‘हामीले यस अघि आँखा स्वास्थ्य शिविर सञ्चालन गरेर गाउँपालिकावासीको आँखा जाँच र मोतीयाविन्दुको समस्या भएका नागरिकहरुको आँखाको सल्यक्रियाको पनि व्यवस्था मिलाएका थियौँ,’ गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले भने ‘पछिल्लो समय चश्मा प्रयोग गर्नुपर्ने व्यक्तिहरु पनि बढेकाले निःशुल्क चश्मा वितरणको कार्यक्रम सञ्चालन गर्दैछौँ ।’

कार्तिक ५ गते शनिबार गाउँपालिका परिसरमा विहान १० बजेदेखि चश्मा वितरण कार्यक्रम राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिए । उनका अनुसार चश्मा वितरण कार्यक्रममा आँखा स्वस्थ राख्नका लागि के कस्तो विषयमा ध्यान दिनुपर्छ भन्ने बारेमा परामर्श समेत प्रदान गर्ने कार्यक्रम रहेको छ ।

कपुरकोट गाउँपालिकाले गत भदौमा सञ्चालन गरेको आँखा स्वास्थ्य शिविरबाट २६६ जनाले लाभ प्राप्त गरेका थिए भने ५० जना मोतीयाविन्दुको सल्यक्रिया गर्नुपर्ने व्यक्तिहरु फेला परेका थिए । उनीहरुले राप्ती आँखा अस्पताल रक्षाचौर दांगमा सल्यक्रिया समेत गरिसकेका छन् ।

पछिल्लो समय सबै उमेर समूहका व्यक्तिहरुमा आँखाको समस्या बढ्दै गएको पाइएको छ । विज्ञान तथा प्रविधिको विकास संगै लामो समयसम्म मोवाइल, ल्याप्टप, कम्प्युटर चलाउने, धेरै समयसम्म टिभी हेर्ने जस्ता कारणले पनि आँखामा समस्या आउने गरेको चिकित्सकहरु बताउँछन् ।

प्रकाशित मिति: १ कार्तिक २०७९, मंगलवार ११:०७