सामाजिक अभियान्ता ज्ञानेन्द्रले रचनात्मक बनाए जन्मदिन

सल्यान, ३ माघ ।

विभिन्न सामाजिक क्रियाकलापमा संलग्न सल्यानका एक युवकले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर आफ्नो जन्मदिनलाइ रचनात्मक तरिकाले मनाएका छन् । “पढेर लेखेर मात्रै देशको मुहार फेरिन्छ” भन्ने मान्यताका साथ शारदा नगरपालिका-१३ निवासी ज्ञानेन्द्र पुन मगरले अपांगता भएका, गरिव तथा जेहेन्दार २७ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै आफ्नो जन्मदिन मनाएका हुन ।

शारदा नगरपालिका-१३ चलाउनेपानीमा रहेको बालकल्यान प्राथमिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई आफ्नो २२ औं जन्मदिनको अवसरमा कापी, कलम संगै जाडोयाममा न्यानोको लागि टोपी, मोजा वितरण गरेका थिए । जन्मदिनमा गरिने फजुल खर्चलाई कटाएर उनले गरिब तथा जेहन्दार विद्यार्थीलाई १२ दर्जन कापी, १० दर्जन कलम, मोजा ३० जोडा र १२ पिस टोपी लगाएतका सामाग्री वितरण गरेको विद्यालयले जनाएको छ ।

सल्यानी युवाहरुको पवित्र सोंचको साथ संचालित सामाजिक संजाल “सल्यान दृष्टिकोण” मार्फत पनि सामाजिक अभियानमा कृयाशिल ज्ञानेन्द्रले आफ्नो जन्म ठाँउमा रहेको विद्यालयका गरिब जेहन्दार विद्यार्थीलाई पढाइमा केहि टेवा पुगोस् भनेर सहयाेग गरिएकाे बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिना बुढाथोकी र प्रधानध्यापक गौरी बुढाथोकीले मंगलबार आयोजित कार्यक्रममा सामाजिक अभियान्ता ज्ञानेन्द्रको रचनात्मक कार्यको प्रशंसा गर्दै युवाहरुको सकृयतामा नै सामाजिक अभियानले सार्थकता पाउने बताएका थिए ।

प्रकाशित मिति: ३ माघ २०७९, मंगलवार २१:१८