
सल्यान, १४ फागुन ।
आँखाको समस्यालाई मध्येनजर गर्दै सल्यानको कालिमाटीमा मोतिविन्दुको सल्यक्रिया र चश्मा वितरण हुने भएको छ । कालिमाटी गाउँपालिकाले यहि फागुन २४ र २५ गते आँखा जाँच संगै मोतीविन्दु भएका विरामीको निःशुल्क रुपमा सल्यक्रिया र चश्मा वितरणको लागि शिविर सञ्चालन गर्नेभएको हो ।
आँखा उपचारको पहुँचबाट टाढा रहेका नागरिकहरुलाई आफ्नै पालिकामा आँखाको चेकजाँच सेवा दिने र मोतीविन्दुको विरामीलाई सल्यक्रिया गरेर नयाँ दृष्टी प्रदान गर्ने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष दान बहादुर केसीले जानकारी दिए । नेपाल नेत्र ज्योती संघ, राप्ती आँखा अस्पताल तुलसिपुर दांगको सहयोगमा कालिमाटी ३ स्थित रामपुर स्वास्थ्य चौकीमा निःशुल्क आँखा स्वास्थ्य शिविर सञ्चालन हुन लागेको गाउँपालिकाले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर खड्काले एक सूचना जारी गर्दै आँखाको चेकजाँच तथा उपचार गर्न र चश्मा लगाउनुपर्नेहरुलाई निःशुल्क रुपमा चश्मा प्राप्त गर्न अनुरोध गरेका छन् । ग्रामिण भेगमा अझै पनि आँखाका रोगीको उपचार हुन नसकेको अवस्थामा त्यसको निराकरणका लागि यस प्रकारको शिविरले टेवा पुर्याउने अपेक्षा गरिएको छ । गाउँपालिकावासीले भोग्नुपरेका स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै हरेक वर्ष विभिन्न स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको स्वास्थ्य शाखा कालिमाटीले जनाएको छ ।
प्रकाशित मिति: १४ फाल्गुन २०७९, आईतवार १४:००