
सल्यान, २५ फागुन ।
सल्यानमा बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका वडा नम्बर ६ शंखमुल चोकमा बिहीबार दिउँसो बसले ठक्कर दिँदा मोटरसाइकल चालक छत्रेश्वरी गाउँपालिका ३ पालेखोला निवासी अन्दाजी १९ वर्षीय अजय वलीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार श्रीनगरबाट त्रिवेणी गाउँपलिकाको काभ्रा जाँदै गरेको लु २ ख १२२२ नम्बरको बसले बिपरित दिशाबाट गइरहेको रा ५ प ३०४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते वलीको थप उपचारका लागि सल्यान जिल्ला अस्पताल पुर्याएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए ।
ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धानको कार्य अघि बढाइएको सल्यान प्रहरिको भनाइ छ ।
प्रकाशित मिति: २५ फाल्गुन २०७९, बिहीबार २०:४६