
पाेखरा । पोखराको मनिपाल शिक्षण अस्पतालमा बिहीबार चम्ल्याहा शिशुको जन्म भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ की २६ वर्षीया सुनीता पौडेल प्रधानले ३ छोरी र १ छोरालाई जन्म दिएकी हुन् । चारैजना शिशु र आमाको स्वास्थ्य ठीक रहेको अस्पतालले जनाएको छ ।
डा. महेन्द्र पाण्डेको नेतृत्वमा शल्यक्रियामार्फत चार बच्चाको जन्म दिइएको हो । डा. पाण्डेका अनुसार पहिलो बच्चा छोरी डेढ केजीकीलाई ९ बजेर ४९ मिनेटमा निकालिएको थियो । त्यसपछि दोस्रो बच्चा छोरा (१.३ केजी), तेस्रो र चौथो बच्चा छोरीहरु (१.३ र १.४ केजीका) लाई ९ बजेर ५० मिनेटमा निकालिएको हो ।
करिब ४० मिनेट लगाएर शल्यक्रियामार्फत बच्चाको जन्म गराइएको हो । ‘भिडियो एक्सरे गर्दा तीनवटा बच्चामात्रै देखिएको थियो’ पाण्डेले भने, ‘तर शल्यक्रिया गर्दा चारवटा भेटिए ।’ पाण्डेका अनुसार प्रति ८ लाखमा एकजनाले चम्ल्याहा जन्माउने गर्छन् ।
प्रकाशित मिति: २ माघ २०७६, बिहीबार १९:००