कारागार भित्र घाम न लाग्दा महिनावारी भएको बेला समस्या

सल्यान, महिनावारी भएको समयमा सरसफाइको अभावले हुने स्वास्थ्य समस्यालाई लिएर हाम्रो मुलुकमा हालसम्म कुनै महत्तवपूर्ण अध्ययन नभए पनि यसको मारमा पर्नेहरूको संख्या उल्लेख्य मात्रामा छ ।
ग्रामीण क्षेत्रमा महिलाहरुले महिनावारी भएको समयमा बग्ने रगत रोक्न उपयोग गरिने वस्तुको स्वच्छतामा अझैपनि विशेष ध्यान दिएको पाइँदैन । कतिपयले महिनावारी भएको समयमा सफा र नरम कपडाको प्रयोग गर्छन भने कतिपयले स्यानेटरी प्याडको प्रयोग गर्ने गरेका छन् । कतिपय महिलाहरुले चाहेर पनि प्याडको प्रयोग गर्न सकी रहेका छैनन् ।
यस्तै समस्या जिल्ला कारागारमा रहेका महिलाहरुले पनि महिनावारी भएको समयमा भोगी रहेका छन् । तर यस सम्बन्धी कसैको ध्यान पुगेको छैन् ।
विभिन्न समयमा कसुर गरेको आरोपमा कारागारमा कैदी बन्दीको जीवन व्यतीत गरी रहेका महिलाहरुलाइ महिनावारी भएको समयमा अन्य महिला सरह सहज छैन् । महिनावारी भएको समयमा सरसफाइमा विशेष ध्यान दिनु पर्ने जानकारी हुँदा पनि आफुहरुले महिनावारी भएको समयमा विभिन्न समस्या भोग्नु परेको कैदी जयन्ती हमालले बताउनुभयो ।
उहाँले कारागारमा महिलादिदी बहिनीहरुले चाहेर पनि सरसफाइमा ध्यान पुर्याउन नसकेको बताउनुभयो। हुनत कारागार भित्र महिनावारी भएको महिलालाइ हामी सबैले सहयोग गर्छौं, उहाँले भन्नुभयो ‘तर पनि सरसफाइमा ध्यान पुर्याउन सकि रहेका छैनौं ।’
१८ जना महिला बस्दै आएको कारागारमा एकै चोटी दुइ÷तीन जना महिला संगै महिनावारी हुँदा कपडा सुकाउने ठाउँ अपुग हुने गरेको सलिना गहतराजले बताउनुभयो ।उहाँले कारागार भित्र घामपनि थोरै समयका लागी आउने र सो समयमा प्याडको रुपमा प्रयोग हुने कपडा राम्रोसंग सुक्न नपाउँदा संक्रमण हुन सक्ने संभावना रहेको बताउनुभयो ।
महिनावारी भएको बेला सबैले सफा कपडाको समेत प्रयोग गर्न नपाउँदा प्याडको प्रयोग गर्नसके गुप्तांगमा हुने संक्रमण रोक्न सकिने उहाँको भनाइ छ ।इन्सेकसंग कुरा गर्दै कारागारमा रहेका अधिकाँश महिलाले सफा कपडा प्रयोग गर्न नपाएको भन्दै महिला कैदी बन्दीले प्याडका लागी कसैले सहयोग गरिदियो भने सहज हुने बताएका छन् ।
अरु समयको भन्दा पानीको समस्या भएको बेला महिलाहरुलाइ बढी समस्या हुने गरेको जेलर बल बहादुर केसीले बताउनुभयो । उहाँले अहिले जाडोको समयमा पानीको प्रयाप्त मात्रा भएपनि कारागार भित्र घाम प्रयाप्त मात्रामा नपुग्ने भएकाले समस्या हुने गरेको बताउनुभयो ।
महिनावारी भएको समयमा सरसफाइ प्रति गम्भीर नहुँदा समस्या हुने भन्दै यस अघि काठमाण्डौबाट बटरप्mलाइ हाउसका संचालक पुष्पा बस्नेतले समेत दुइ पटक प्याड वितरण गरेको जेलर केसीले जानकारी दिनुभयो ।
महिनावारी भएको समयमा महिलाहरुले सरसफाइमा ध्यान नदिएमा गुप्तांगको बाहिरी सतह मात्र नभई मूत्रमार्ग र प्रजनन मार्गमा विभिन्न संक्रमण, बाँझोपन, गर्भाशय बाहिर गर्भ बस्ने जस्ता जटिलता देखिनुका साथै क्यान्सर सम्म हुन सक्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

प्रकाशित मिति: ६ माघ २०७६, सोमबार १३:१८