
मकवानपुर – थाहा नगरपालिका सिमभञ्ज्याङमा रहेको पानोरमा रिसोर्टमा बास बसेका आठ जना भारतीय पर्यटकको मृत्यु भएको छ ।
आज बिहान होटलमै अचेत अवस्थामा भेटिएका उनीहरुमध्ये एक जनाको घटनास्थलमै र बाँकीको काठमाडौंको ह्याम्स अस्पतालमा मृतक घोषणा गरिएको हो ।
दुई कोठा लिएर बसेका उनीहरु भारतको केरला प्रदेशका भएको प्रहरीले जनाएको छ । उनीहरु ४ महिला र ४ पुरुष रहेका छन् ।
ती पर्यटकहरु दुई कोठामा बसेको भए पनि बेहोस अवस्थामा एकै कोठामा भेटिएको प्रहरीले जनाएको छ । चिसोबाट बच्न बालेको ग्यास हिटरबाट उनीहरु निसासिएर बेहोस भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
अचेत अवस्थामा रहेका भारतीयहरुलाई हेलिकप्टरमार्फत काठमाडौं स्थित ह्याम्स अस्पतालमा ल्याइएको थियो ।
उनीहरु नागपोखरीमा रहेको इजी कम्पनीबाट हेटौंडा आएको बुझिएको छ । उनीहरु कटेजमा बसेका थिए । टोलीमा १५ जना थिए ।
मृतकहरुको सनाखत गर्ने काम भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ७ माघ २०७६, मंगलवार १५:१६