
दाङ – दाङमा चितुवाको छाला र अबैध लागु औषध चरेस सहित ५ जना पक्राउ परेका छन् । घोराहीको नयाँ बसपार्क क्षेत्रबाट चितुवाको छाला सहित २ जना र तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ शितलपुरबाट ३ किलो चरेस सहित ३ जना पक्राउ परेका हुन् । उनीहरु सबैलाई सोमबार साँझ पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ ।
छाला सहित पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका वडा नम्बर १ का २४ वर्षीय चेतबहादुर पुन र अर्का सोही ठाउँका २४ वर्षकै सौगात घर्ती रहेको प्रहरीले जनाएको छ । झोलाभित्र प्याष्टिकको बोरामा बेरेर राखिएको अवस्थामा चितुवाको छाला बोकेर हिँडिरहेका उनीहरुलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एवम् प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिए ।
चरेस सहित पक्राउ पर्नेहरुमा रुकुम मुसिकोट नगरपालिका २ रातामाटा बस्ने २१ बर्षका अनिल पुनमगर, रुकम आठबिस्कोट नगरपालिका ९ घर भएका २८ बर्षिय भिम बहादुर सार्की र रुकुम कै मुसिकोट नगरपालिका ६ का ४० बर्षिय बाहादुर बोहोरा रहेका छन् । उनीहरुको साथबाट प्रहरीले दुई किलो ५०० ग्राम लागु औषध चरेश फेला परेको छ । उनीहरुलाई प्रहरीले विशेष सुचनाको आधारमा पक्राउ गरेको जनाएको छ ।
प्रकाशित मिति: १४ माघ २०७६, मंगलवार ०७:३३