
काठमाडौं १४, माघ । कोरोना भाइरसको परिक्षण अब नेपालमै सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सोमबारदेखि कोरोना भाइरसको जाँच सुरु गरिएको बताउनुभएको हो । उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा पनि थर्मल स्क्यानर मार्फत ज्वरो लगायतका अन्य लक्षणहरु नाप्न थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एयरपोर्टमा ज्वरोहरु नाप्नको लागि थर्मल स्क्यानर र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हिजोदेखि कोरोना भाइरसको जाँच सुरु भएको छ ।’ उहाँले काठमाडौंमा रहेको अस्पतालहरुको ल्याबहरुलाई प्रयोग गर्ने विषयमा काम भइरहेको जानकारीसमेत दिनुभयो । त्यस्तै सबै प्रदेशमा भिडियो कन्फ्रेन्स मार्फत निरन्तर रिपोर्टहरु लिने र निर्देशनहरु दिने काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘काठमाडौंका अस्पतालहरुको लागि ल्याब सेवाहरु कसरी सञ्चालन गर्ने त्यो विषयमा पनि काम गरेका छौं, प्रदेशहरुलाई पनि यो कुरा हिजो मात्रै भिडियो कन्फ्रेन्स गरेर जानकारी गरेका छौं ।’
कार्यक्रममा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका प्रवक्ता डा. अनुप बास्तोलाले मौसमी रुघा खोकी र कोरोना भाइरसबाट बच्ने उपाय एउटै भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोरोना भाइरसबाट बच्न भिडभाडमा जान हुदैन । साबुन पानीले हात धोइराख्ने, खोक्दा वा हाछ्यु गर्दा मुख छोप्ने, मास्क तथा पञ्जा लगाउने लगायतका काम गर्नुपर्ने गर्नुपर्छ ।’ उहाँले स्वास्थ्यकर्मीहरुले पनि शंकास्पद विरामीहरु आएमा मास्क, पञ्जा, गाउन लगाउने र विरामीलाई छोएपछि तत्काल हात धुने लगायतका प्रकृया अपनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका अधिकारी सुनिल शर्माले सरकारले कोरोना भाइरसबाट बच्ने उपायको विषयमा आवश्यक प्रचार प्रसारको सुरुवात गरिसकेको जानकारी दिनुभयो । उहाँले प्रचार छपाएर वितरण गर्ने, विभिन्न सञ्चारमाध्यमबाट प्रकाशित गर्ने लगायतका कामहरु गरिएको बताउनुभयो ।
कार्यक्रममा कुनैपनि व्यक्तिमा कोरोना भाइरसको लक्षण देखा परेमा काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा र काठमाडौं बाहिर नजिकको अस्पतालमा सम्पर्क गर्ने व्यवस्था सहित आवश्यक प्रचारप्रसारलाई तिब्रता दिएको जानकारी दिनुभयो ।
प्रकाशित मिति: १४ माघ २०७६, मंगलवार २१:१५