सल्यानमा दुई हजार ५९ जना द्वन्द्वपीडितले अझै राहत पाएनन्

 सल्यान ।  सशस्त्र द्वन्द्वको समयमा माओवादी र राज्य पक्षबाट पीडित भएका जिल्लाका २ हजार ५९ जना द्वन्द्व पीडितले हालसम्म राहत पाउन सकेका छैनन् ।घाइते तथा अङ्गभङ्ग भएका २ हजार ३ सय १० मध्ये ३३ जनालाई मात्र साविक स्थानीय शान्ति समितिमार्फत राहत र जीवन निर्वाह भत्ता दिइएको थियो ।जिल्लामा द्वन्द्वको क्रममा घाइते र अपाङ्ग बनेकाले हालसम्म पनि उपचार र राहत पाउन नसकेको गुनासो गरेका छन् ।

दार्मा गाउँपालिका–३ भल्चौरका ४६ वर्षीय मान बहादुर विक २०६१ चैत २४ गते रुकुमको खारामा तत्कालीन माओवादी र नेपाली सेनाबीच भिडन्त हुँदा गम्भीर घाइते भएका थिए । भिडन्तका क्रममा उनका शरीरमा लागेका बमका सात ओटा छर्रा अझै पनि शरीरमै छन् ।१६ वर्षको उमेरमा भूमिगत भएको बताउँदै उहाँले कम्पनी कमाण्डरसम्म भएपनि समायोजनमा अयोग्य ठहरिएपछि विश्राम लिनु परेको जानकारी दिनुभयो । अहिले आर्थिक अवस्था कमजोर भएकाले हातमा तीन, खुट्टामा तीन र छातीमा एउटा बमको छर्रा बोक्न बाध्य भएको उहाँको भनाइ छ ।

०५९ जेठ २९ गते छत्रेश्वरी गाउँपालिका–१ स्थित गुराँसे भिडन्तमा बमको छर्रा टाउकोमा लागेपछि ४६ वर्षीया नन्दकली कवर घाइते बनेको बताउनुहुन्छ । टाउकोमा लागेको तीन छर्रामध्ये दुई ओटा फालिए पनि एउटा अझैं बाँकी छ  उहाँले भन्नुभयो, ‘आर्थिक अवस्था कमजोर हुँदा आँखादेखि माथिको भागमा रहेको छर्रा त्यत्तिकै छ । छर्रा फाल्न नसक्दा शारीरिक अवस्था दिनदिनै कमजोर बन्दै गएको छ ।’साविकको स्थानीय शान्ति समितिका अनुसार द्वन्द्वकालमा जिल्लाभरी २ हजार ३ सय १० जना घाइते भएका थिए ।

द्वन्द्वको समयमा जिल्लामा ३ सय ७२ जनाको मृत्यु भएको तथ्याङ्क स्थानीय शान्ती समितिमा भएपनि स्थानीय शान्ति समिति नै खारेज भएपछि अहिले द्वन्द्वपीडितको समस्या जिल्ला प्रशासन कार्यालयले हेर्दै आएको छ ।प्रमुख जिल्ला अधिकारी चूडाराज न्यौपानेले द्वन्द्वको समयमा घाइते तथा अङ्गभङ्ग भएकामध्ये ३३ जनाले अहिले जीवन निर्वाह भत्ता पाउँदै आएको जानकारी दिनुभयो ।

‘यस वर्ष छुटेकाहरूको पुनरावलोकन गर्न भन्दै गृह मन्त्रालयले सूचना जारी गरेको थियो, ६८ जनाको निवेदन प¥यो’ उहाँले भन्नुभयो, ‘मन्त्रालयमा कागजात पठाईसकिएको छ, मन्त्रालयकै निर्देशनअनुसार उहाँहरूलाई राहत तथा जीवन निर्वाहभत्ता वितरण गरिनेछ ।’ इन्सेकद्वारा प्रकाशित द्वन्द्वपीडित पाश्र्वचित्रका अनुसार सल्यान जिल्लामा सशस्त्र द्वन्द्वको समयमा २ सय ३२ जना हत्या, २७ जना वेपत्ता र २१ जना अङ्गभङ्ग भएका थिए ।

प्रकाशित मिति: १५ माघ २०७६, बुधबार ११:४२