सवारी दुर्घटना कम गर्न सल्यान–सुर्खेत–जाजरकोट सडकखण्डमा टाईम कार्ड लागु

सल्यान। सवारी दुर्घटनालाइ कम गर्न जाजरकोट– सल्यान–सुर्खेत सडकखण्डमा टाईम कार्ड लागू भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानको पहलमा जिल्ला प्रहरी कार्यालय जाजरकोट र सल्यानको सहकार्यमा सो सडकखण्डमा टाइमकार्ड लागु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।
यस सडकखण्डमा सडक साँघुरो र कच्ची छ, डिएसपी खतिवडाले भन्नुभयो,‘साँघुरो सडकखण्डमा तीव्र रुपले गाडी चल्ने भएकाले दुर्घटनाको उच्च जोखिमलाइ न्युनिकरण गर्न टाइमकार्ड लागु गरेका हौं ।’
जस अन्तरगत रिम्ना – होलुखोला ९ किलोमीटर १ घण्टा, होलुखोला देखि खलंगा बसपार्क ६ किलोमीटर ४५ मिनेट, खलंगा बसपार्क मटेला ९ किलोमीटर ३० मिनेट, मटेला देखि कुदु सम्म ५ किलोमीटर २५ मिनेट, कुदुदेखी छेडाचौर २२ किलोमीटर १ घण्टा २० मिनेटको समय तय गरिएको छ ।
यस्तै छेडाचौर देखि सुर्खेत राकम सम्म २४ किलोमीटर १ घण्टा ३० मिनेट, सुर्खेत राकम देखि सल्लिबजार सल्यान सम्म ३ किलोमीटर १० मिनेट, सल्लि बजार सल्यान देखि बोटेचौर सुर्खेत सम्म २३ किलोमिटर १ घण्टा ३० मिनेटको समय तय गरिएको प्रहरीले जनाएको छ ।
टाइमकार्डमा लागु भएको समयभन्दा पहिलानै गन्तव्यमा पुगेको पाइएमा जरिवाना गरिने समेत डिएसपी खतिवडाले जानकारी दिनुभयो ।उहाँले तोकिएको समयमा यातायातका सवारी साधन समयभन्दा पहिला पुगेको खण्डमा एक हजार देखी पाँच सय सम्म जरिवाना गरिने बताउनुभयो ।
साथै उहाँले तोकिएको समयसम्म सवारी साधन रोकेरमात्र गन्तव्यका लागी छोड्ने जानकारी दिनुभयो । उहाँले सडक दुर्घटनालाइ यस अभियानले कम गर्न मद्दत पुग्ने  विश्वास लिएकाे बताउनुभयो ।

प्रकाशित मिति: १९ माघ २०७६, आईतवार २०:३३