लुहाममा निर्माण भएको वृद्धाश्रम आगामी फागुनदेखि सञ्चालनमा आउने

सल्यान ।जिल्लाकाे त्रिवेणी गाउँपालिकाकाे लुहाममा निर्माण भएको वृद्धाश्रम आगामी फागुनदेखि सञ्चालनमा आउने भएको छ ।  जिल्लामै पहिलो पटक निर्माण गरेको वृद्धाश्रम यस वर्षबाटै सञ्चालनमा ल्याउने तयारीमा रहेको गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीले बताउनभयो ।
जीवनभर राष्ट्रलाई योगदान गरेका जेष्ठ नागरिकहरु, जो अशक्त, आर्थिक रुपमा विपन्न, विचल्लीमा परेका हुन्छन र बुढेसकालमा बाँच्ने सहारा नभएकाहरुका लागी वृद्धाश्रम निर्माण गरिएको डाँगीले बताउनुभयो ।
आव २०७५÷०७६ मा विनियोजन भएको २० लाख रुपैयाँको लागतमा दुईकोठे भवन निर्माण भएको हो । वृद्धाश्रम सञ्चालनको लागि लुहामस्थित त्रिवेणी तीर्थशाला धाम सञ्चालक समितिलाई जिम्मेवारी दिइएको र छिट्टै जेष्ठ नागरिक समाज पनि गठन गरिने उहाँले बताउनुभयो ।
‘जेष्ठ नागरिक समाजले पनि वृद्धाश्रम सञ्चालनमा सहयोग गर्छ’, अध्यक्ष डाँगीले भन्नुभयो, ‘गाउँपालिकाबाट पनि वृद्धवृद्धाहरुको स्वास्थ्य उपचार, राज्यबाट प्रदान गरिने सेवा सुविधा आश्रममै गएर उपलब्ध गराईन्छ । त्यसले पुगेन भने थप सुविधा गाउँपालिकाले उपलब्ध गराउँछ ।’ वृद्धाश्रमका लागि यस वर्ष पनि गाउँपालिकाले बजेटको ब्यवस्था गरेको छ । यस वर्ष ५ लाख रुपैयाँ विनियोजन गरिएको अध्यक्ष डाँगीले बताउनुभयो ।
सो रकमबाट भान्साकोठा निर्माण गरिने छ । महिला र पुरुषका लागि छुट्टाछुट्टै दुईवटा कोठाको ब्यवस्था भएको आश्रममा एउटा कोठामा कम्तीमा पनि १० जना बस्न सक्ने गाउँपालिकाले जनायो । वृद्धाश्रममा शौचालयको पनि व्यवस्था भइसकेको छ ।
वृद्धाश्रम सञ्चालनका लागि छुट्टै एउटा कोष पनि स्थापना गरिने डाँगीले बताउनुभयो । बृद्धावस्थामा विशेष सहारा आवश्यकता पर्ने भएकाले गाउँपालिकाले वृद्धाश्रमको अवधारणा ल्याएको उहाँको भनाई छ ।


बृद्धाश्रम निर्माणपछि लुहामस्थित त्रिवेणी तिर्थशाला धाम क्षेत्रमा धार्मिक आस्था बृद्धि र पर्यटन विकासका लागि थप काम गर्ने गाउँपालिकाको योजना छ । यसअघि जिल्लामा कुनै पनि स्थानमा वृद्धाश्रम निर्माण नभएको अध्यक्ष डाँगीले बताउनुभयो ।उहाँले भन्नुभयो, ‘मैले बुझेसम्म जिल्लामा एउटा पनि वृद्धाश्रम निर्माण तथा सञ्चालनमा आएका छैनन् । हामीले लै पहिलो पटक निर्माण गरेका हौँ।’
त्रिवेणी तिर्थशाला धाममा स्थापना कालदेखी यस्को संरक्षणमा लाग्नुभएका ६० वर्षीय नारायण प्रसाद शर्माले २०६८ सालदेखी यस स्थानमा बस्न थालेको र पछि बल्ल यहाँका संरचना निर्माण भएको बताउनुभयो । पहिले यस ठाँउमा सानो टहरो रहेको बताउँदै उहाँले तत्कालीन गाविसबाट केही रकम माग गरेर भवन निर्माण गरेको बताउनुभयो ।


त्यसपछि महायज्ञबाट करिब ७ लाख रकम संकलन भएको र सोही रकमबाट यहाँ मन्दिर निर्माण गरिएको उहाँले बताउनुभयो ।सबैभन्दा पहिला स्थानीय दाता हेमराज वलीले स्वर्गीय आमा बुवाको नाममा राधाकृष्णको मन्दिर स्थापना गरेको र पछि अन्य अरु दाताहरुले पनि आफन्तको सम्झनामा विभिन्न आकृति र मन्दिर निर्माण गरेको उहाँले बताउनुभयो ।
उहाँले समयको परिवर्तन संगे अहिले आएर यस स्थानमा वृधाश्रम खोलिनु धेरै राम्रो भएको बताउनु भयो । वृधाश्रममा आउने हरुले बिहान बेलुका मन्दिरमा पुजा आजा पनि गर्नसक्ने भएकालेमनमा समेत शान्तरु पुर्याउने उहाँले बताउनुभयो ।

प्रकाशित मिति: २१ माघ २०७६, मंगलवार १९:४५