स्वास्थ्य संस्थामा निशुल्क पाइने अत्यावश्यक औषधी अभाव

सल्यान। शिद्द कुमाख गाउँपालिका–२ मा रहेको शिद्धेश्वरी स्वास्थ्यचौकीमा सुत्केरी हुन आउने महिलाका लागी औषधी र बेडको अभाव भएपछि समस्या भएको छ । स्वास्थ्यचौकी का निमित्त कार्यालय प्रमुख सिनियर अहेब मिना डिसीले बर्थिंग सेन्टरमा सुत्केरी हुन आउने महिलाहरुका लागी चाहिने अक्सीटोक्सी नामक सिरिन्ज र नेफिटिन ट्याबलेटको अभाव भएको बताउनुभयो ।
महिलाको बच्चा जन्मिए लगतै तत्काल लाउनुपर्ने सिरिन्ज अक्सीटोक्सीको अभाव भएपछि थोरै मात्रामा आफैले खरिद गरि काम चलाएको उहाँले बताउनुभयो ।यस्तै गर्भवती भएको महिलालाइ अत्याधिक टाउको दुखेमा दिइने नेफीटिन ट्याबलेट पनि अभाव भएको उहाँको भनाइ छ ।
विगत एक वर्ष अघि कार्यालय प्रमुख अहेब सरुवा भएर गएपछि स्वास्थयचौकी प्रमुख बिहिन बनेको र आफुहरुलेनै कार्यालय प्रमुख भएर काम गर्दै आएको उनले जानकारी दिनुभयो । भौगोलिक दृष्टिकोणले दुर्गममा रहेको यस स्वास्थ्यौकीमा हाल आइरन पनि सय पिस जति मात्रै स्टक रहेको संस्थाले जनाएको छ । म्याद गुज्रिएको आइरन सोमवार मात्रै नष्ट गरेको बताउँदै सिनियर अहेब मिना डिसीले अहिले थोरै मात्रामा औषधी भएकाले समस्या भएको बताउनुभयो् ।


बेडको अभाव भएपछि टेबुलमा गराइन्छ सुत्केरी
यहाँ सुत्केरी हुन आउने महिलाले सास्ती बेहोर्नु परेको छ । गर्भवती महिलालाइ सुत्केरी गराँउदै आएकी अनमी सर्मिला रोकायले बेडको अभावमा टेबुलमा राखेर सुत्केरी गराउँदा अप्mठेरो हुने गरेको बताउनुभयो ।उहाँले करिब एक वर्ष देखी सुत्केरी बेड नहुँदा दुइवटा टेबुल जोडेर त्यसैमा सुत्केरी बनाउँदा आमा र बच्चाले समस्या भोग्नुका साथै आफुलाइ पनि समस्या हुने गरेको बताउनुभयो ।
सुरक्षित प्रसुति गराउन आवश्यक पर्ने सबै औजार र राम्रो बेड चाहिन्छ,उहाँले भन्नुभयो,तर यहाँ बेड नहुँदा बेथा लागेको महिलालाइ टेबुलमा सुताएर सुत्केरी गराउन पर्छ,खुट्टा अड्याउने अर्कै मान्छेको आवश्यकता पर्छ, कार्यालयमा दुइ जना नभएको दिनमा हामीलाइ समेत हम्मे हम्मे पर्छ । गाउँपालिकालाइ पटक पटक आग्रह गर्दा कार्यालय सम्म बेड आएको सुनेका छौं,तर अहिले सम्म यहाँ पठाउनु भएको छैन,उहाँल्े भन्नुभयो,आफै गएर ताकेता न गर्दा सम्म आउने सम्भावना देखिएको छैन् ।
मोबाइल बालेर टाँका लाउँछौं
बिजुली बत्ती नपुगेको यस वडामा रहेको स्वास्थ्य संस्थामा सबैकाम सोलार बाट गरिंदै आएको छ । तर बच्चा जन्मिसकेपछि टाँका लगाउने समयमा भने सोलारको बत्तीले नभ्याएपछि स्वास्थ्यकर्मीहरु मोबाइल बालेर टाँका लगाउने गरेको बताउँछन् ।
यहाँका समस्या कति बताउने हो सिनियर अनमी मिना डिसी भन्नुहुन्छ,टाँका लाउँदा अरु बत्तीले भ्याउँदैन,मसिनो रुपले हेर्नुपर्छ,त्यसको लागी ब्यारी लाइटको आवश्यकता पर्छ,तर हामी संग त्यो पनि नहुँदा आप्mनो मोबाइल बालेर काम चलाउने गरेका छौं ।
वार्षिक रुपमा ७० देखी ८० जना सुत्केरी हुन आउने यस स्वास्थ्य चौकीमा अहिले मुस्किलले वार्षिक ४० देखी ४५ जना सम्म सुत्केरी हुन आउने गरेका छन् ।
जोखिम मोलेर सुत्केरी हुनुभन्दा बरु केही बढी रकम खर्च गरेर जिल्ला अस्पताल वा निजि स्वास्थ्य क्लिनिकमा जान बाध्य भएको स्वास्थ्य संस्थाले जनायो ।


सुत्केरी सुताउने ठाँउमा संक्रमण हुने सम्भावना
यस स्वास्थ्य संस्थमा सुत्केरी भएपछि महिलालाइ सुताउने बेडको समेत अभाव रहेको छ । सुत्केरी बनाउँदा जति समस्या छ त्यतीनै सुत्केरी भएकी महिला र बच्चा लाइ सुताउने समेत समस्या रहेको छ ।सुत्केरी सुताउने कोठामा दुइवटा बेड भएपनि चिसोको समयमा समस्या हुने गरेको छ ।
नवजात शिशु र सुत्केरी आमा लाइ न्यानो गराउन सफा र न्यानो ठाउँमा राख्नु पर्ने हुन्छ तर यहाँभने चिसोमानै रात बिताउनु पर्ने बाध्यता रहेको स्वास्थय संस्थाले जनाएको छ।दुर्गम ठाँउबाट स्टेचरमा बोकेर ल्याउने बाध्यता रहेकाले अन्य कपडा ल्याउन न पाएका आमाहरुलाइ समस्या हुने गरेको संस्थाले जनाएको छ ।
यता गाउँपालिकाको स्वास्थय शाखा प्रमुख सुरेन्द्र प्रसाद यादवले भने गाउँपालिकालाइ यस बारे कुनै जानकारी नआएको बताउनुभयो ।स्वास्थ्य संस्थामा सुत्केरी हुनेहरुका लागी बेडको अभाव भएकोमा गाउँपालिकाले बेड खरिद गरि सकेको तर ढुवानीको समस्याले समयमै स्वास्थ्य सस्ंथासम्म पुर्याउन नसकेको उहाँल्े जानकारी दिनुभयो ।
अब एक दुइदिन भित्रै सबै सामान गाउँपलिकाबाट स्वास्थ्यसंस्थामा पठाइसक्ने उहाँले बताउनुभयो । स्वास्थ्य संस्थामा औषधी र सिरिन्जको अभाव भएको भने जानकारी नआएकोमा यसो भएको खण्डमा तुरुन्तै पठाएर सिघ्र समस्या समाधान गर्ने बताउनुभयो ।
मिना बुढाथोकी

प्रकाशित मिति: २८ माघ २०७६, मंगलवार १८:५७