नेपालको सन्देश : ‘चीनको साथमा हामी छौं’

काठमाडौं– २९, माघ। नोवल कोरोना भाइरस विरुद्धको संघर्षमा लडिरहेको चीनलाई साथ दिन बुधबार काठमाडौंमा ‘हामी साथ छौं’ कार्यक्रम आयोजना गरिएको छ ।

ट्रान्स हिमालय विकास केन्द्र र फ्रेण्ड्स अफ सिल्क रोडले आयोजना गरेको उक्त कार्यक्रममा नेपाल र चीनको झण्डा बनाई मैनबत्ती बालेर ‘हामी साथ छौं’ भन्ने सन्देश दिइएको थियो । त्यस्तै सांगीतिक र साहित्यिक माध्यमबाट चीनलाई साथमा छौं भन्ने सन्देश दिइएको आयोजकले जनाएको छ ।

चीन नेपालको छिमेकी मात्र नभएर असल छिमेकी भएको र चीनले कोरोना भाइरसमाथि जित हासिल गर्नेछ भन्ने विश्वासका साथ आयोजित कार्यक्रममा चिनियाँ राजदूत होउ यान छिले चीनले ब्यहोरिरहेको विपत्तिप्रति नेपालले देखाएको सद्भावको सराहना गर्नुभयो । उहाँले चीन सरकारले कोरोना भाइरसको नियन्त्रण गर्न महत्वपूर्ण कदम चालेकोले महामारीलाई रोकथाम गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले चीनमा फैलिएको नोबल कोरोना भाइसर नियन्त्रणमा चीनले प्राप्त गरेको सफलताको सकारात्मक सन्देश प्रवाह गर्न सहयोग गर्ने बताउनुभयो । उहाँले सन्देशलाई विश्व समुदायमाझ फैलाउन लाग्ने प्रतिवद्धतासमेत जनाउनु भयो । उहाँले भन्नुभयो, ‘चीन कोरोनाको महामारीसँग लड्दै आएको छ । यसलाई छिट्टै जित्नेछ भन्ने विश्वास लिएको छु । जसका लागि चीनको साथमा हामी छौं भनेर सन्देश दिन चाहान्छु ।’ उहाँले नेपालमा भूकम्प आउँदा चीनले दिएको साथको स्मरण गर्दै नेपाल र चीनबीचको सम्बन्ध उच्च रहेको बताउनुभयो ।

मन्त्री अर्यालले चीनमा रहेका नेपाली विद्यार्थीमा कुनै संक्रमण नरहेको भन्दै नेपाल ल्याउन सरकारले तयारीलाई तिब्र बनाएको समेत बताउनुभयो ।

प्रकाशित मिति: २९ माघ २०७६, बुधबार २१:३३